आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु,प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए ।
कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभएर महँगो हुने उनले बताए ।
अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु,प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताए ।
नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु,प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान उनले माग गरे ।
सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।