काठमाडौंका मेयर बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहित तीन जनालाई स्पष्टिकरण सोधेको छ ।
बिहीबार सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी नदिई फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह सहित तीन जनालाई सात दिने स्पष्टीकरण सोधेको जनाएको छ ।
‘तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा कानुनी कारवाही अगाडी बढाईनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त क्षेत्रमा नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई जेठ ३२ गते फेन्सीङ्ग तारवार काट्नेको जनाएको छ ।
प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर उक्त कुरालाई अटेर गरी जबर्जस्ती कानून विपरितको कार्य गरेको प्राधिकरणको ठहर छ ।
तार काट्न थालेपछि सो सम्वन्धी पत्र, जानकारी माग गर्दा ‘हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८०-०२-३२ को निर्णयानुसार जानकारी गराईन्छ’ विज्ञप्तिमा उल्लेख छ । उक्त म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भै जाने जनाएको छ ।
यस्तै प्राधिकरणको सिनामंगलस्थित नयाँ भवनको नक्सा पास प्रक्रिया अगाडी बढाउनका लागि काठमाडौँ महानगरपालिकालाई २०७९ माघ ९ गते नै पत्र पठाईसकिएको भएपनि कुनै जवाफ नआएकोले पुनः उक्त नक्सा पास प्रक्रिया अगाडी बढाउन महानगरपालिकालाई पत्राचार गरिएको प्राधिकरणले जनाएको छ ।