राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँट, एउटै संस्थाले पायो ४२ लाख ७ हजार



ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको छ ।

बिहीबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको हो । एउटै सदस्यले ४२ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ-संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १८ करोड ५५ लाख १२ हजार ६ रुपैयाँ १५ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको बैंकले जनाएको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ-संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले बताए ।

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १५ हजार ४७४ वटा सहकारी संघ-संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार ७ सय २७ रुपैयाँ तथा कर्जा तर्फ ११ लाख ४८ हजार ४ सय ९८ रपैयाँ सम्म प्राप्त गर्न सफल भएको गुरागार्इंले बताए ।

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ-संस्थाहरु ७३३ रहेका छन् । हाल बैंकमा १६ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ-संस्थाहरुलाई आर्थिक वर्ष २०७८/०७९ को लागि बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पुस १८ गते वितरण गरेको थियो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीय निकायहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो ।


क्लिकमान्डु