सहकारीको अनुगमनका लागि दोस्रो तहको नियामक आवश्यक: कँडेल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीमा १०/१२ वर्ष देखिको समस्या अहिले आउन थालेको बताएका छन् ।
नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले अहिले सबै सहकारीमा नभइ १ प्रतिशतभन्दा कम सहकारीमा समस्या भएको बताएका छन् ।
सहकारीको अनुगमन/ नियमनका लागि तत्काल दोस्रो तहको नियामक आवश्यक रहेको उनले बताए ।
‘सहकारीमा यो १०/१२ वर्षअघि देखिको समस्या अहिले आउन थालेको हो । सञ्चालनमा रहेका मध्ये १ प्रतिशतभन्दा कम सहकारीमा समस्या छ’ उनले भने, ‘दोस्रो तहको नियामक खोलेर अनुगमनमा जान आवश्यक छ ।’
उनले कर्जा सुरक्षण कोष, ऋण असुली न्यायाधीकरण कार्यान्वयनमा आउन नसकेको बताए । सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबार गर्न दिनु पर्ने, सहकारीले बिप्रेषण गर्न पाउनु पर्ने उनको माग छ ।