काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपमा जारी शैक्षिक मेला



काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट आयोजना भइरहेको शैक्षिक मेलामा काठमाडौं महानगरले हस्तक्षेप गरेको छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालले आयोजना गरेको शैक्षिक मेलामा महानगरले हस्तक्षेप गरेको हो ।

एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै उच्च शिक्षाबारेमा जानकारी दिन भन्दै क्याम्पसमा रिजल्ट अगावै अग्रिम सिट बुक गराउन लगाउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रममा महानगरले हस्तक्षेप गरेको हो ।

‘एसईईको रिजल्ट नआउँदै विद्यार्थीलाई भर्ना गराउन खोज्ने, विभिन्न स्किमहरु बाँड्नेलगायतका कामहरु यहाँबाट भएका कारण हटाइएको हो’ मेयर बालेन शाहको सचिवालय सदस्य सुरेन्द्र बजगाइँले भने ।

विगत केही वर्षदेखि एसईईको परीक्षा सकिने वित्तिकै विभिन्न संघ तथा शैक्षिक संस्थाहरुका छाता संगठनहरुले यस्ता कार्यक्रम गर्दै आएका छन् । विद्यार्थीलाई आफ्नो कलेजमा नै पढ्न लगाउने गरि स्किम बाँड्ने, रिजल्ट अघि नै विद्यार्थीलाई भर्ना गर्ने प्रतिबद्धता गर्न लगाउने जस्ता कार्यहरु बढ्दै गएको भन्दै महानगर एक्सनमा उत्रिएको हो ।

मेला जेठ ३२ गतेदेखि असार ३ गतेसम्मका लागि आयोजना भएको थियो । हिसानसँगको छलफलपछि मेला भोलिबाट सञ्चालन हुन दिने वा नदिने भन्ने बारे निर्णय हुने बजगाइँले बताए ।

‘आजका लागि मेला रोकिएको छ । शुल्कका विवरणहरुका विषयहरु हटाउन लगाइएको छ । भोलिबाट कार्यक्रम हुँदा अग्रिम सिट बुक गर्ने, फि स्ट्रक्चर भन्ने, विद्यार्थीलाई आफ्नो कलेजमा भर्ना बुक गर्ने लगायतका काम नहुने गरि मेला सञ्चालन हुन सक्छ । तर यस बारे छलफलपछि टुंगो हुन्छ’ बजगाइँले भने ।


क्लिकमान्डु