मेची भन्सारले रोक्यो अम्रिसोको ‘अन्डर इन्भ्वाइसिङ’, ६९ रुपैयाँ प्रतिकिलोबाट १२० पुग्यो निकासी मूल्य



काठमाडौं । मेची भन्सार कार्यालयले अम्रिसोको ‘अन्डर इन्भ्वाइसिङ’ रोकेको छ । प्रतिकिलो १२२ रुपैयाँमा किनेर ६९ रुपैयाँ प्रतिकिलोका दरले भारत निकासी भएको समाचार क्लिकमान्डुमा सम्प्रेषण भएपछि कार्यालयले मूल्य बढाएर उत्पत्तिको प्रमाणपत्र बनाउन बाध्य बनाएको हो ।

‘हामीले यथार्थ नराखे निकासी रोक्ने चेतावनी दिएपछि अहिले प्रतिकिलो १२० रुपैयाँ मूल्य राखेर उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेका छन्,’ कार्यालय प्रमुख रामप्रसाद रेग्मीले भने, ‘स्वदेशी उत्पादनमा जिल्ला उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र दिने भएकाले जति मूल्य राखेर ल्याइन्छ, हामीले त्यति मूल्यमै निकासी गर्नुपर्ने हुन्छ ।’

स्थानीय बजार मूल्यको जानकारी भएपछि अधिक मूल्यमा उत्पत्तिको प्रमाण पत्र जारी गर्न बाध्य बनाउन सकिएको उनले बताए । भन्सारको तथ्यांकअनुसार किसानबाट औसत १२२ रुपैयाँमा किनेको अम्रिसो दुई तहका व्यापारी पार हुँदै ६९ रुपैयाँ प्रतिकिलोले भारत निकासी भइरहेको थियो । तर, यथार्थमा नेपाली व्यापारीले भारतीय व्यापारीसँग प्रतिकिलो १४४ रुपैयाँ नै लिइरहेका थिए ।

प्रतिकिलो १४४ रुपैयाँमध्येको ६९ रुपैयाँ वैधानिक प्रक्रियाबाट नेपाल भित्रिए पनि बाँकी करोडौं रकम हुन्डी या सामान आयात गर्दा अन्डर इन्भ्वाइसिङ गरेर या त अरु कुनै अवैध माध्यमबाट भित्र्याउने काम भइरहेको थियो । अझै पनि निकासी मूल्य १२० रुपैयाँ प्रतिकिलो पनि यथार्थ भने होइन । किसानले नै १२२ रुपैयाँ किलोले अम्रिसो बेचेको बताएका छन् ।

व्यापारीले गत वर्ष पनि किसानबाट ११५ रुपैयाँ प्रतिकिलोले अम्रिसो किनेर मेची भन्सार कार्यालयबाट ४९ रुपैयाँ ६८ पैसा प्रतिकिलोका दरले भारत र बंगलादेश निकासी गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

स्थानीय व्यापारीले इलाम र पाँचथरका गाउँ-गाउँबाट संकलन गरेको अम्रिसो झापाको धुलाबारीतिरका अलि ठूला व्यापारीलाई ८-१० रुपैयाँ नाफा राखेर बुझाउँछन् । ती व्यापारीले सामान्य ग्रेडिङ र प्याकेजिङ गरेर झापाको काँकडभिट्टा नाका पुर्‍याउँछन् ।

उनीहरुले अम्रिसोलाई गुणस्तरका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याउँछन् । भारतीय व्यापारीलाई ग्रेडअनुसार मूल्य तोकिन्छ र बिक्री हुन्छ । यसरी निकासी हुने कृषि वस्तुका लागि एउटा प्रज्ञापन पत्रमा ११३ रुपैयाँ भन्सार सेवा शुल्कबाहेक केही पनि तिर्नु पर्दैन । व्यापारीले स्वयं घोषणा गरेको मूल्य नै भन्सार कार्यालयका लागि अन्तिम मूल्य हुन्छ ।

स्वयं घोषणा गर्ने मूल्य व्यवसायीकै संगठनहरु नेपाल उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबाट निर्धारण हुन्छ । त्यसको पनि ९९ प्रतिशत उद्योग वाणिज्य संघले हेर्छ ।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले निकासी बिल गर्दा न्यून मूल्य राख्दा मात्र भारतीय व्यापारीले किन्ने गरेको बताएका थिए । ‘उच्च मूल्य राखियो भने भारतमा जीएसटी बढी तिर्नुपर्ने हुन्छ,’ उनले भनेका थिए, ‘फलत: भारतीय व्यवसायीलाई महँगो पर्न जान्छ र उनीहरु आसाम, भुटान, सिक्किमतिरको अम्रिसो ल्याउन थाल्छन् ।’

तर, भन्सार कार्यालय प्रमुख रेग्मीका अनुसार अहिले १२० रुपैयाँ प्रतिकिलोका दरले निकासी गर्दा पनि भारतीय व्यवसायीले निर्वाध किनिरहेका छन् । व्यापार विज्ञहरु भने आन्तरिक उत्पादनमा नियतवश नै कम मूल्यको बिल काटेर सामान निर्यात गरिने बताउँछन् ।

उनीहरुका अनुसार त्यसो गर्दा आयकर पनि छल्न पाइन्छ भने विदेशबाट थोरै मूल्यको एलसी खोलेर धेरै मूल्यको सामान आयात गर्न सकिन्छ । कम मूल्यको बिल बनाएर बढी सामान निकासी गर्दा होस् या बढी मूल्यको बिल बनाएर कम सामान आयात गर्दा होस्, यी दुवै उपाय क्यापिटल फ्लाइटका माध्यम भएको अर्थविद्हरुको भनाइ छ ।

निर्यात गरेको वस्तुमा कम मूल्यको बिल बनाउँदा व्यापारीले पाउनुपर्ने बिलबाहेकको पैसा विदेशबाट हुन्डी या अरु माध्यमबाट ल्याउनुपर्ने हुन्छ । यसले अनौपचारिक कारोबारलाई बढावा दिन्छ । विदेशमै पैसा होल्ड गर्न सक्दा व्यापारीले कम मूल्यमा धेरै सामान ल्याउन पनि सक्छन् । नेपालबाट बिल मूल्यभन्दा बढी पैसा पठाउन नसक्ने अवस्थामा कम मूल्यको बिल बनाएर सामान निर्यात गर्ने बाटो व्यापारीले अपनाउँछन् ।


डीआर आचार्य