अम्रिसोमा व्यापारीको बदमासीः प्रतिकिलो १२२ रुपैयाँमा किनेर ६९ रुपैयाँमा बिक्री गर्दा कसरी हुन्छ फाइदा ?



काठमाडौं । इलामको सिद्धिथुम्का नगरपालिका खान्द्रुङका पुष्पलाल मिश्रले गएको पुसमा प्रतिकिलो १२२ रुपैयाँका दरले ८ क्विन्टल अम्रिसो (कुचो) बेचे । उनका छोरा प्रह्लादले ७ क्विन्टल कुचो सोही भाउमा बिक्री गरे ।

वर्षभरिमा एकपटक आम्दानी दिने कुचोबाट बाबुछोरा (दुई परिवार) ले १ लाख ८३ हजार कमाए । यसबाहेक उनीहरु अदुवा र अलैंचीबाट पनि आम्दानी गर्छन् ।

‘खेतीकिसानी गर्दा दु:खचाहिँ गर्नैपर्छ तर पैसा मनग्य छ,’ पुष्पलालले क्लिकमान्डुसँग भने, ‘घरमै आएर व्यापारीले लैजान्छन्, हाताहाती पैसा दिन्छन्, अचेल साह्रै सजिलो छ ।’

वृद्धभत्ता पाउने उमेर भइसक्दा पनि पहाडी हावापानी र राम्रो खानपानले उनी कुनै युवाभन्दा कम फुर्तिला छैनन् ।

‘पहिला माथि पञ्चमीसम्म बोकेर लानुपर्थ्यो, अहिले त घरघरै गाडी गुड्ने बाटा पुगेका छन्, व्यापारी आउँछन्, लान्छन्, बोकेरै लानुपर्‍यो भने पनि के गाह्रो छ र !’ उनी जोस्सिए, ‘कुचो, अदुवा, अलैंचीहरुको मूल्यमा साह्रै उतारचढाव आउँछ तर पनि घाटै चाहिँ हुँदैन ।’

आफूले घरैबाट १२२ रुपैयाँमा बेचेको कुचो व्यापारीले कतिमा बेच्छन्, व्यापारीको कति तह पार हुन्छ भन्ने उनलाई खासै थाहा छैन । तर, ७० रुपैयाँ प्रतिकिलोका दरले बेच्छन् भनेको सुन्दा उनी तीनछक परे ।

‘यो त असम्भव कुरा हो,’ झन्डै ३० वर्षदेखि अम्रिसो, अदुवा र अलैंची बेच्दै आएका पुष्पलालले भने, ‘व्यापारीले घाटाको व्यापार कसरी गर्छ ?’

फागुन पहिलो साता काठमाडौं घुम्न आउँदाको कुराकानी अझै पनि उनको मनमा खेलिरहन्छ । ‘के रहेछ त्यो थाहा भयो ?’ उनले फोनमा सोधे, ‘अझै खुल्दुली लागिरा’छ ।’

भन्सार विभागको तथ्यांकअनुसार किसानबाट १२२ रुपैयाँमा किनेको अम्रिसो दुई तहका व्यापारी पार हुँदै ६९ रुपैयाँ प्रतिकिलोले भारत निकासी भएको हो । यही औसत मूल्यमा नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्ममा करिब ८८ करोड रुपैयाँको अम्रिसो भारत निर्यात भएको छ ।

बितेका १० महिनामा नेपालबाट ८७ करोड ९४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ९४ हजार ५९० किलो अम्रिसो भारत निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यो भनेको प्रतिकिलो ६९ रुपैयाँ २८ पैसा हो ।

व्यापारीले गत वर्ष पनि किसानबाट ११५ रुपैयाँ प्रतिकिलोले अम्रिसो किनेका थिए । तर, काँकडभिट्टा भन्सार कार्यालयबाट ४९ रुपैयाँ ६८ पैसा प्रतिकिलोका दरले भारत तथा बंगलादेश निकासी भएको छ । गत वर्षको साउनदेखि वैशाखसम्ममा भारत र बंगलादेशमा गरी ६२ करोड ८४ लाख ८५ हजार रुपैयाँको १ करोड २६ लाख ५० हजार २६४ किलो अम्रिसो निर्यात भएको हो ।

गत वर्ष ३२ लाख ५९ हजार रुपैयाँबराबरको १ लाख २८ हजार किलो बंगलादेशमा र ६२ करोड ५२ लाख २६ हजार रुपैयाँबराबरको १ करोड २५ लाख २२ हजार २६५ किलो भारत निकासी भएको हो । तथ्यांकअनुसार बंगलादेश प्रतिकिलो २५.४६ रुपैयाँ र भारत ४९.९३ रूपैयाँले निर्यात भएको छ ।

कसरी हुन्छ यस्तो ?

स्थानीय व्यापारीले इलामका गाउँ-गाउँबाट संकलन गरेको अम्रिसो झापाको धुलाबारीतिरका अलि ठूला व्यापारीलाई ८-१० रुपैयाँ नाफा राखेर बुझाउँछन् । ती व्यापारीले सामान्य ग्रेडिङ र प्याकेजिङ गरेर झापाको काँकडभिट्टा नाका पुर्‍याउँछन् ।

अम्रिसोलाई गुणस्तरका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुट्याउँछन् । भारतीय व्यापारीलाई त्यही अनुसार मूल्य तोकिन्छ । औसत ९० रुपैयाँ (भारतीय) अर्थात् १४४ नेपाली रुपैयाँका दरले भारत निकासी गर्छन् । औसत १४४ रुपैयाँ प्रतिकिलोका दरले व्यापारीले यस वर्ष अम्रिसो बेचेको मूल्य हो ।

त्यसोभए, भन्सारको तथ्यांकमा किन ६९ रुपैयाँ मात्र देखियो त ?

खान्द्रुङ आसपासबाट अम्रिसो संकलन गर्ने लामा कान्छो भनेर चिनिने व्यापारीले किसानलाई १२२ रुपैयाँ तिरेका छन् भने भारत निकासी गर्ने ठूला व्यापारीलाई २-५ रुपैयाँ नाफा राखेर बिक्री गरेका छन् । त्यसपछिको मूल्यबारे उनी खासै जानकार छैनन् ।

धुलाबासीमा बसेर लामो समय अम्रिसो, अदुवा र अलैंचीको व्यापार गर्दै आएका ख्याम पोखरेलले यो वर्ष भारतीय बजारमा ९० भारतीय रुपैयाँभन्दा बढीमा अम्रिसो निकासी भएको बताए ।

‘म अहिले अम्रिसो बेच्दिन,’ उनले क्लिकमान्डुसँग टेलिफोनमा भने, ‘ग्रेडिङ र प्याकेजिङ गरेर निकासी गर्दा व्यापारीले त्यस्तै मूल्य लिन्छन् ।’

उनका अनुसार भन्सारमा क्लियरेन्सका लागि एजेन्टलाई २५ सयदेखि ३ हजारसम्म दिनुपर्ने र भन्सार कार्यालयले लिने १५० इन्ट्री शुल्कबाहेक अरु खर्च हुँदैन । ‘भारतले चाहिँ १ टनबराबर २५ सय रुपैयाँ लिन्छ, त्यसमाथिको हरेक टनका लागि प्रतिटन १५० रुपैयाँ तिर्नुपर्छ,’ पोखरेलले भने, ‘हाम्रो खर्च हुने त्यति हो ।’

भन्सार कर्मचारीले भारतीय बजारमा बेचेको मूल्यअनुसार भाउ तल-माथि भएको सुनाउँदा स्वीकार नगर्ने र पहिला कारोबार भएकै मूल्य तोकेर निकासी अनुमति दिने उनले बताए । ‘मूल्य घट्दा घट्ने र बढ्दा बढ्ने मूल्यमा निकासी गर्न भन्सारका कर्मचारीले मान्दैनन्, त्यही भएर व्यापारीले निकासी गर्ने मूल्य र भन्सारमा राखिएको मूल्य फरक-फरक देखिएको हो,’ उनले भने ।

भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलले भने भन्सार कार्यालयहरुले अम्रिसोलगायतका वस्तुमा एउटा प्रज्ञापन पत्रमा ११३ रुपैयाँ भन्सार सेवा शुल्कबाहेक केही नलिने बताउँछन् ।

‘आयात हुने वस्तुमा न्यून बिजकीकरण हुन सक्ने भएकाले भन्सार कार्यालयहरु चनाखो रहन्छन्,’ उनले क्लिकमान्डुसँग भने, ‘तर ड्युटी फ्री वस्तु निर्यात गर्दा उनीहरुसँग नै निकासी मूल्य सोधिन्छ, जति भन्छन्, त्यति नै राखिन्छ ।’ व्यापारीहरुले स्वयं घोषणा गरेको मूल्य नै भन्सार कार्यालयका लागि अन्तिम मूल्य हुने उपमहानिर्देशक पोखरेलले बताए ।

मेची भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मी सरकारले मूल्य नतोकेका ड्युटी फ्रि वस्तुको मूल्यका विषयमा भन्सार कार्यालय जिम्मेवार नहुने बताउँछन् ।

‘एउटा प्रज्ञापन पत्रमा ११३ रुपैयाँ भन्सार सेवा शुल्क लाग्छ, त्यो पनि नगदमा होइन, बैंकमा पैसा बुझाएर उहाँहरुले भौचर लिएर आउनुहुन्छ,’ उनले भने, ‘त्यसअघि व्यवसायीकै संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सबाट उहाँहरुले उत्पत्तिको प्रमाण पत्र लिनुभएको हुन्छ, आवश्यक कागजपत्र पाएपछि उहाँहरुले भनेको मूल्य उल्लेख गरेर निकासी अनुमति दिइन्छ ।’

भन्सार विभाग, भन्सार कार्यालय र जिल्ला उद्योग वाणिज्य संघसँग बुझ्दा व्यापारी ख्याम पोखरेलले भनेभन्दा फरक तथ्य फेला परेको छ । उत्पत्तिको प्रमाणपत्र प्रदान गर्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले व्यापारीहरु बसेर मूल्य निर्धारण गर्ने गरेको बताएका छन् ।

‘भन्सारमा देखाउने मूल्य हामी व्यापारी बसेर निर्धारण गर्छौं,’ उनले भने, ‘अहिले हामीले अम्रिसोको प्रतिकिलो ८० रुपैयाँ मूल्य निर्धारण गरेका छौं, अलि अघि त त्योभन्दा कम थियो, त्यसलाई सय रुपैयाँ बनाउने सोचमा छौं ।’

जति मूल्य हो त्यति नै राख्दा के फरक पर्छ ? भन्ने प्रश्नको उत्तर दिन उनले कन्जुस्याइँ गरे । ‘कतिपय व्यवसायी अलि सीधा खालका हुन्छन्, पारिबाट पैसा ल्याउँदा बैंकिङ च्यानलमा मिलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यही भएर कम मूल्य राखिएको जस्तो लाग्छ, ठ्याक्कै त मलाई पनि थाहा भएन हौ ।’

संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले भने कम मूल्य राख्नुको कारण खुलाए । ‘निकासी बिल गर्दा उच्च मूल्य राखियो भने भारतमा जीएसटी (गुड्स एन्ड सर्भिसेस ट्याक्स) बढी तिर्नुपर्ने हुँदा भारतीय व्यवसायीलाई महँगो पर्न जान्छ र उनीहरु आसाम, भुटान, सिक्किमतिरको अम्रिसो ल्याउन थाल्छन्,’ उनले भने, ‘व्यापारीले जहाँबाट २ रुपैयाँ सस्तो पाउँछ, त्यहीँबाट किन्छ ।’

भारतमा जीएसटी १८ प्रतिशत छ । प्रतिकिलो १४४ रुपैयाँ मूल्य तय भएको अम्रिसो भारतीय व्यापारीकै आग्रहमा ७० रुपैयाँको निकासी बिल बनाइने क्षेत्रीले बताए । एक किलोमा ७४ रुपैयाँ कम मूल्य तय गर्दा भारतीय व्यापारीलाई १३ रुपैयाँ ३२ पैसा सस्तो पर्छ भने एक टनमा १३ हजार ३२० र सय टनमा १३ लाख ३२ हजार नेपाली रुपैयाँ फरक पर्छ । नेपालबाट चालू आवको १० महिनामा १२ हजार ६९४ टन निकासी भएको छ ।

वरिष्ठ उपाध्यक्ष क्षेत्रीका अनुसार नेपाली व्यवसायी खास मूल्य नै राखेर बिक्री गर्न चाहन्छन् । ‘तर मार्जिन बढाउन उनीहरु (भारतीय व्यापारी) सकेसम्म कम मूल्य राख्न चाहन्छन्,’ उनले भने, ‘अम्रिसो मात्र होइन, नेपाल, भारत दुवैतिर उत्पादन हुने वस्तुमा अन्डर इनभ्वाइिसङ गर्नुको विकल्पै छैन, अन्यथा भारतमा लार्ज स्केलमा र उच्च सरकारी अनुदानमा उत्पादन हुने वस्तुसँग हामी प्रतिस्पर्धा गर्नै सक्दैनौं ।’

अदुवा, अलैंची, अम्रिसोलगायतका कृषि उपजदेखि प्लाइउडसम्मका सामानमा कम मूल्य राखे मात्र भारतीय व्यापारीलाई आकर्षित गर्न सकिने उनले बताए ।

कम मूल्यको बिल किन बनाइन्छ, के फरक पर्छ ?

किसानबाट खरिद गरेको मूल्य र भारत निकासी गरेको मूल्यबीच अनौठो गणित देखिएको यो पहिलो पटक होइन । लामो समयदेखि यस्तै बदमासी हुँदै आएको छ । कार्पेटलगायतका मूल्य नतोकिएका अन्य सामानमा नियतवश नै कम मूल्यको बिल काटेर निर्यात गरिँदै आएको आरोप व्यवसायीलाई लाग्ने गरेको छ ।

भन्सार विभागका अनुसार नेपालबाट ७४ देशमा कार्पेट तथा ऊनका सामान निकासी हुन्छ । चालू आवमा नेपालबाट अमेरिकामा २८ हजार रुपैयाँ र चीनमा २९ हजार रुपैयाँ प्रति वर्गमिटरका दरले निकासी भएको कार्पेट युनाइटेड अरब इमिरेट्स (यूएई) मा १० हजार रुपैयाँ प्रति वर्गमिटरका दरले निकासी भएको छ ।

समीक्षा अवधिमा अमेरिकामा ५ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको २ लाख १० हजार वर्गमिटर र चीनमा १५ करोड ७४ लाखको ५३ हजार ७४३ वर्गमिटर कार्पेट निकासी भएको छ । त्यस्तै यूएईमा ७ करोड ५ लाख रुपैयाँबराबरको ६ हजार ८०८ वर्गमिटर कार्पेट निकासी भएको छ ।

यूएईमा कार्पेट निकासी गर्दा चीन र अमेरिकाकै हाराहारी मूल्यको बिल बनाएको भए साढे १२ करोड रुपैयाँ अर्थात् थप ९ लाख ६१ हजार अमेरिकी डलर नेपाल भित्रिन्थ्यो । कुचोमा पनि कम मूल्यको बिल नबनाएको भए ९३ करोड ९४ लाख नेपाली रुपैयाँ अर्थात् ५८ करोड ७३ लाख भारु नेपाल भित्रिन्थ्यो । वास्तविक मूल्यमा निकासी नहुँदा राज्यले आयकर पनि गुमाएको छ ।

कम मूल्यको बिल बनाएर बढी सामान निकासी गर्दा होस् या बढी मूल्यको बिल बनाएर कम सामान आयात गर्दा होस्, यी दुवै उपाय क्यापिटल फ्लाइटका माध्यम भएको अर्थविद केशवप्रसाद आचार्य बताउँछन् । कम मूल्यको बिल बनाएका कारण सरकारको आम्दानी मात्र घट्दैन, व्यापार घाटा पनि बढी देखिन्छ । वैदेशिक व्यापार नीति प्रभावित हुन्छ ।

निर्यात गरेको वस्तुमा कम मूल्यको बिल बनाउँदा व्यापारीले पाउनुपर्ने बिलबाहेकको पैसा विदेशबाट हुन्डी या अरु माध्यमबाट ल्याउनुपर्ने हुन्छ । यसले अनौपचारिक कारोबारलाई बढावा दिन्छ । विदेशमै पैसा होल्ड गर्न सक्दा व्यापारीले कम मूल्यमा धेरै सामान ल्याउन पनि सक्छन् । नेपालबाट बिल मूल्यभन्दा बढी पैसा पठाउन नसक्ने अवस्थामा कम मूल्यको बिल बनाएर सामान निर्यात गर्ने बाटो व्यापारीले अपनाउँछन् ।


डीआर आचार्य