चालु खर्च कटौती गर्न बजेट असफल: पूर्वअर्थमन्त्री पौडेल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालु खर्च कटौती गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्वले बढि हुनु सरकार आफैंले गरेको घोषणा विपरित रहेको बताएका हुन् ।
सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको उनले भने । त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औंल्याए । उनले बजेटमा चालु खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्विकार गरिएकाले त्यो असंगत रहेको उनको भनाइ थियो ।
‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्व छ । आगामी आर्थिक वर्षको चालु खर्च ११ खर्व ४१ अर्व प्रस्ताव गरिएको छ । अर्थात् चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्वले बढी छ । यसरी चालु खर्च घटाउने दावीलाई बजेट स्वयमले खण्डन गरेको छ’ उनले भने ‘भन्दा चालु खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालु खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालु आर्थिक वर्षका लागि पूँजीगत खर्च ३ खर्व ८० अर्व ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्व २ अर्व ७ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्व ३१ करोडले कम छ सभामुख महोदय । यसको अर्थ के हो भने चालु खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ सभामुख महोदय । बजेटमा जे बोलिएको छ । र, बजेट जसरी प्रस्तुत भएको छ । यो असंगत छ सभामुख महोदय ।’
उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकीर गरे ।