टोखा-छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढ्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुद्देश्यीय टोखा-छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन् ।

नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मन्त्री महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयामिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पुँजी होइन ।’

‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना पनि छ,’ महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौं ।’

आफू नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको तर त्यो नुवाकोटको आवश्यकता भएको उनले बताए । ‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पुर्‍याउने प्रयास गरेका छौं,’ मन्त्री महतले भने ।


क्लिकमान्डु