नेपालबाट भारतमा हुने निर्यात ३३ प्रतिशतले घट्यो, चीनसँग भने शतप्रतिशत बढ्यो



काठमाडौं । चालु आवको १० महिनामा नेपालबाट भारततर्फ हुने निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालबाट भारततर्फ हुने निर्यातमा ३३ प्रतिशतको कमी आएको छ ।

आव २०७८/०७९ मा नेपालबाट भारततर्फ १० महिनामा १ खर्ब ३७ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तर, चालु आवको १० महिनामा भने नेपालबाट भारततर्फ ९१ अर्ब १४ करोड ८० लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

अर्कातिर, नेपालबाट चीनतर्फ हुने निर्यातमा भने शतप्रतिशतले वृद्धि भएको छ । गत आव २०७८/०७९ मा नेपालबाट चीनतर्फ ६७ करोड ४५ लाख बराबरको वस्तु निर्यात भएको थियो । चालु आवमा भने नेपालबाट चीनतर्फ १ अर्ब ३५ करोड २९ लाख बराबरको वस्तु निर्यात भएको छ ।

चीन र भारत बाहेक अन्य देशमा नेपालबाट हुने निर्यातमा पनि वृद्धि भएको छ । गत आवको १० महिनामा नेपालबाट ३५ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

चालु आवको १० महिनामा चीन र भारतबाहेकका देशहरुमा नेपालबाट ३८ अर्ब ३९ करोड ९२ लाख बराबरको वस्तु निर्यात भएको छ ।

चीन र भारतबाहेकका देशहरुमा हुने निर्यातमा ८.२ प्रतिशतको वृद्धि देखिएको छ । तर, समग्रमा नेपालबाट अन्य देशहरुमा हुने निर्यात भने विगतको तुलनामा कम छ ।

गत आवको १० महिनामा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ बराबरको निर्यातको तुलनामा चालु आवको १० महिनामा २४.५ प्रतिशतको कमी देखिएको छ । चालु आवमा नेपालबाट १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

पछिल्लो समय विश्वभर नै आर्थिक मन्दीका कारण आयात निर्यातमा कमी आएको छ । नेपालबाट हुने वस्तुहरुको निर्यातमा विगतको तुलनामा कमी आएजस्तै आयातमा पनि कमी आएको हो ।

गत आवको १० महिनामा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख बराबरको वस्तुहरुको आयात भएकोमा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २५ लाख रुपैयाँको मात्रै वस्तु आयात भएको छ । गत आवको १० महिना र चालु आवको १० महिनाबीच तुलना गर्दा आयातमा पनि १६.८ प्रतिशतको कमी आएको छ ।


क्लिकमान्डु