आइएमई लाइफले प्रिमियम मूल्य थपेर आईपीओ निष्कासन गर्ने



काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १ गतेदेखि र सर्वसाधारणका लागि असार २० गतेदेखि सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । जसमा अंकित मूल्यमा प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसाका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुने छ । यस्तै ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका छुट्याएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १ देखि १५ गतेसम्म निष्कासन गर्ने छ । सर्वसाधारणले भने असार २० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।


क्लिकमान्डु