बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छुः माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन् ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बजेट तीन जिल्लामा मात्रै केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने उनले बताएका हुन् । आधारबिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ थियो । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको नेपालले बताए ।

‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसावले गरिएछ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ’ उनले भने ।

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको उनले बताए ।


क्लिकमान्डु