भारतले नेपाली भूमिसहितको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री दाहालले मिडियामा सोबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि बताए । सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासन उनले दिए ।

‘पहिलो कुरा संसदको नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाएँ । किनकी त्यो धेरे अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो नयाँ संसद भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ,’ उनले भने, ‘यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरुको जवाफ थियो । अव यो बारे अझ बढि अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकि नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’

प्रधानमन्त्री दाहालले भारतको नयाँ संसदमा राखिएको नक्सा सांस्कृतिक भएको कुरा पनि भारतीय पक्षले राखेको बताए ।


क्लिकमान्डु