नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन



काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न २३औं बार्षिक साधारण सभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको हो ।

सभाले प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्ष अरुण गोयन्का, तृतिय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सँजय अग्रवाल र कोषाध्यक्ष बिनोद कुमार अग्रवाललगायत १७ जनाको नयाँ सदस्यसहित कार्य समिति सर्बसम्मत चयन गरेको छ ।

सभाले मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखि सुविधा दिन पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपालमा गहुँको उत्पादन बढाउन नेपाल सरकार, किसान र ब्यवसायी मिलेर दिर्घकालीन नीति तर्जुमा गर्ने, मैदाको कच्चा पदार्थ गहुँ नेपालको उत्पादनले मात्र नपुग्ने हुँदा भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने र नेपाल सरकारबाट निर्यात अनुदान दिएमा नीनलगायत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुँदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने माग गरेको छ ।

साथै, बैकब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने, उद्योगकै नाममा गहुँ आयात गर्दा भन्सार दर एक प्रतिशत हुन पर्ने, बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्ने, गहुँ र मैदा आयातको भन्सार मुल्याङ्कन परिमार्जन गर्ने र मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु