वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैनः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको उनले बताए ।

आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमुलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने उनले बताए ।

सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौती गर्नु राम्रो नभएको उनको भनाइ छ ।

अध्यक्ष ढकालले चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरु बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने बताए । आर्थिक नीति स्थिर भएको हेर्न चाहेको भन्दै उनले आर्थिक वर्षैपिच्छे करका दर परिवर्तन हुनु राम्रो नभएको उल्लेख गरे । बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव मूल्याङ्कन र लगानीलाई प्रोत्साहन हुनेगरी गर्न आवश्यक रहेको ढकालको भनाइ थियो ।

अध्यक्ष ढकालले सरकारको आर्थिक विधेयकमा करका दर अचानक परिवर्तन गर्दा दीर्घकालिन असर पर्ने बताए । निजी क्षेत्रले बजेट सुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा बिरोध गर्ने प्रचलन रहेको भन्दै बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर आर्थिक विधेयकमा लेख्ने नम्बर परिवर्तन गर्ने उनले बताए ।


क्लिकमान्डु