निर्जीवन बिमा कम्पनीहरुको कुल बिमा शुल्क साढे ३२ अर्ब, चैतमा भन्दा वैशाखमा घट्यो



काठमाडौं । निर्जीवन कम्पनीको कुल बिमा शुल्क ३२ अर्ब ६८ करोड नाघेको छ । वैशाखसम्ममा सञ्चालनमा रहेका १५ निर्जीवन बिमा कम्पनीले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बिमा कम्पनीहरुले वैशाखमा मात्र २ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । चैतको तुलनामा वैशाखमा निर्जीवन बिमा कम्पनीको व्यवसायमा गिरावट आएको छ । निर्जीवन बिमा कम्पनीहरुले चैतमा ४ अर्ब १४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए ।

यस्तै निर्जीवन बिमा कम्पनीहरुबाट जारी भएको बिमा लेख संख्या वैशाखसम्ममा २३ लाख ५० हजार ६५२ पुगेको छ । वैशाखमा मात्र १ लाख ८४ हजार ३१४ बिमालेख जारी भएको छ ।

वैशाखमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २० हजार ९६७ र सिद्धार्थ प्रिमियरले २० हजार ७०२ वटा बिमा लेख जारी गरेका छन् । त्यस्तै सगरमाथा लुम्बनीले १९ हजार १७२, नेको इन्स्योरेन्सले १८ हजार ३५७ र हिमालयन एभरेस्टले १८ हजार १९८ बिमालेख जारी गरेका छन् ।


क्लिकमान्डु