पशुपति सहकारीका अध्यक्ष लामासहित सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्र
काठमाडौं । सहकारी विभागले ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरेको छ ।
स्रोतका अनुसार विभागले शुक्रबार सहकारीका अध्यक्ष लामालगायत सञ्चालकलाई पक्राउ गर्न अनुरोध गरेको हो । सहकारी ऐनको दफा १२९ मा भएको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको विभागले जनाएको छ ।
विभागले सहकारीका अधयक्षलगायत पदाधिकारीलाई पटक-पटक स्पष्टीकरण सोधेको तर जवाफ चित्त नबुझेपछि पक्राउका लागि पत्रचार गरेको बताएको छ ।
सहकारीले बचतकर्ताको पैसा लिएर फिर्ता नगरेको भन्दै साढे ३ वर्षदेखि विभागमा उजुरी गुनासो आउने क्रम बढेको थियो । उजुरी र गुनासो बढेपछि विभागले अध्यक्षलगायत सञ्चालकलाई बचतकर्ताको पैसा फिर्ता गर्न तथा संस्थालाई सहकारी ऐन र नियमावलीअनुसार सञ्चालन गर्न पटक-पटक लिखित तथा मौखिक निर्देशन दिँदै आएको थियो ।
कुनै पनि निर्देशन पालना गर्न अटेर गरेको तथा बचतकर्ताको पैसा फिर्ता नदिएकाले पक्राउका लागि पत्राचार गरिएको विभागले जनाएको छ ।
विभागले यसअघि फागुन २९ गते संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको थियो । मन्त्रालयले उक्त फाइल रोकेर राखेको छ । कुनै सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेमा र संस्था समस्यामा परेमा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने गरेको छ ।
मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि सहकारी व्यवस्थापन समितिको कार्यालयले थप काम अघि बढाउने छ ।
अहिलेसम्म सहकारीले ठगेको भन्दै ५३ करोडको माग दाबी विभागमा परेको बताइएको छ । विभाग स्रोतका अनुसार करिब ८० करोड रुपैयाँजति बचत फिर्ता गर्न बाँकी देखिएको छ ।
सहकारीले धेरै पैसा जग्गामा लगानी गरेको पाइएको छ । संस्थाले वैशाख १२ गते विभिन्न पत्रिकामा पर्यटकीय नगरी मेघौलीमा आकर्षण घडेरी किस्ताबन्दीमा कर्जा सुविधा दिने भन्दै विज्ञापनसमेत निकालेको थियो । सहकारीले उक्त समयमा ३ सयवटा घडेरीमध्ये आफूलाई मन लागेको जग्गा किन्न भन्दै सूचना निकालेको थियो ।