कृषि विकास बैंकमा १७९ जनालाई रोजगारीको अवसर



काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा १७९ जनालाई जागिर खुलाएको छ ।

बैंकले शुक्रवार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षामार्फत पदपूर्तिका लागि कर्मचारीहरूको दरखास्त आह्वान गरेको हो ।

बैंकले प्रकाशित गरेको सूचनाकाअनुसार वरिष्ठ शाखा प्रमुख पदमा अधिकृत स्तरका प्रशासन समूहमा १ जनाका लागि रोजगारी खुलाएको छ । त्यस्तै, शाखा प्रमुख अधिकृत स्तर प्रशासनतर्फ ४ जना, वरिष्ठ लेखा अधिकृत (सि.ए) पदमा अधिकृत स्तर प्रशासनतर्फ ६ जना, वरिष्ठ इन्जिनियर (आई.टी) पदमा अधिकृत स्तरका लागि १ जना, व्यवसाय अधिकृततर्फ प्रशासनका लागि ३८ जना, व्यवसाय सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आइटीतर्फ १ जना, कर्जा अधिकृततर्फ ९ जना, व्यवसाय सहायकतर्फ ३६ जना, ऋण सायकतर्फ ६ जना र लेखापाल सहायक प्रशासनतर्फ ७२ जनालाई रोजगारी खुलाइएको हो ।

विभिन्न समावेशी समूह तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति हुने बैंकले जनाएको छ । प्रकाशित सूचनाकाअनुसार जेठ १९ गतेदेखि असार ९ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, बैंकले आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पनि बढुवाका लागि ३६ जनासँग दरखास्त फारम भर्न आह्वान गरेको छ ।

विभागिय प्रमुख प्रशासनतर्फ २ जना, शाखा प्रमुख प्रशासनतर्फ ७ जना, शाखा प्रमुख प्राविधिकतर्फ २ जना, शाखा अधिकृत प्रशासनतर्फ ६ जना, ऋण/कर्जा/प्राविधिक अधिकृत प्राविधिकतर्फ १ जना र कार्यालय सहायक प्रशासनतर्फ १८ जनालाई बढुवाका लागि दरखास्त फारम भर्न आह्वान गरिएको हो ।

सँगै विभिन्न पदमा कार्यक्षमता मूल्याकंकनद्वारा हुने बढुवाका लागि पनि ९४ जनालाई दरखास्त फारम भर्न बैंकले सूचना निकालेको छ ।


क्लिकमान्डु