पर्यटकीय हब बन्दै गलकोट दरबार, संरक्षण गरिँदै



गलकोट । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो ।

पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला सङ्ग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ ।

अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए । जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ । दरबारको वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन् ।

मल्लका अनुसार दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनःनिर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराने योजना रहेको सुनाए । बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको सङ्ख्या सबैभन्दा बढी भएको उनको भनाइ छ । हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताए ।

उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो ।

त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौं गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ ।

विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौं र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । तस्विरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेलले जानकारी दिए ।

दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उनको भनाइ छ । बाबुको हत्यापछि विस्थापित परिवार नफर्कँदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थालेका हुन् ।

विसं २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो । पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्त हेमन्त भण्डारी जानकारी दिए ।


क्लिकमान्डु