आन्तरिक राजस्व विभागले भन्यो- धितोपत्रको पटके लगानीमा ५ र ७.५% पुँजीगत लाभकर नै अन्तिम



काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्रको पटके कारोबार गर्नेलाई ५ र ७.५ प्रतिशत नै अन्तिम पुँजीगत लाभकर हुने प्रस्टीकरण दिएको छ ।

सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको नियमित व्यावसायिक कारोबार गर्नेबाट तोकिएको पुँजीगत लाभकरबाहेक आयकर उठाउने बताएसँगै अन्योल उत्पन्न भएपछि विभागले प्रस्टीकरण दिएको हो ।

नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको विभागद्वारा जारी सूचनामा भनिएको छ ।

त्यस्तो कारोबार भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको विभागले स्पष्ट पारेको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म नियमित कारोबार गर्नेहरुले स्वयं घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र बुझाए त्यसमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था आर्थिक विधेयक २०८० मा उल्लेख छ ।

यसरी कर दाखिला गर्ने प्राकृतिक व्यक्तिको त्यसभन्दा अघिल्ला वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुने सुविधा विधेयकले दिएको छ ।

विधेयकको दफा २९ मा रहेको छुट सुविधासम्बन्धी व्यवस्थाका कारण धितोपत्रको नियमित कारोबार गर्नेहरुले आव २०७६/७७ यताको आम्दानीमा कर तिर्नुपर्ने हुन्छ । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।


क्लिकमान्डु