मर्कामा परेका लगानीकर्तालाई संरक्षण गर्न खोजिएको हो, कोही आत्तिनु पर्दैन



सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए बुझाउन सक्नेछन् ।

आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको स्वयं घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिल गरेमा त्यसमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ भन्ने व्यवस्था गरिएको छ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको त्यसभन्दा अघिल्ला वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

व्यवसायको रुपमा कुनै प्राकृतिक व्यक्तिले कारोबार गरेको छ भने उसले आम्दानी र खर्च के भएको छ ? कुनै सेयर बिक्री गर्दा नोक्सान भएको हुनसक्छ । कुनै नाफामा हुनसक्छ । बढेको समयमा कर तिरेको हुन्छ । बजार तल आएका बेला बेचेको हुन्छ । राखी राख्ने भन्ने हुँदैन ।

बिक्री गर्दा नोक्सान पनि हुनसक्छ । वर्षभरि कारोबार गर्दा किनेको सेयर कति ? बिक्री गरेको सेयर कति ? भनेर निकाल्दा नोक्सान पनि हुनसक्छ । केहीको नाफा पनि हुनसक्छ । कानुनी व्यवस्थाअनुसार कोहीले ५ प्रतिशत वा कोहीले साढे ७ प्रतिशत तिरेको हुन्छ, जसले बिजनेसको रुपमा कारोबार गरेका हुन्छन्, उनीहरुले तिरेको पैसा दाबी गर्न पाउँछन् । उनीहरुलाई भएको नोक्सान आउने वर्ष सार्न पाउँछन् ।

कुनै व्यवसायको लगानी गर्नेले ब्याज त के बिजनेससँग सम्बन्धित खर्च पनि उठाउन पाएको छैन, अन्तिममा नोक्सानमा गएको छ । तैपनि उसले राज्यलाई ४०-५० लाख कर (टीडीएस)को रुपमा साढे ७ प्रतिशत र ५ प्रतिशत बुझाएको छ ।

सिस्टम के हो भने नोक्सानमा जानेले ७ वर्षसम्म कमायो भने सेटल गर्न पाउँछ । यसअघि अर्को वर्ष कमायो भने कर तिर्नुपर्थ्यो । पहिलाको नोक्सान उसले मात्रै व्यहोर्नुपर्थ्यो । नोक्सान भएको वर्ष आग्रिम करको रुपमा पैसा बुझाएको हुन्छ । त्यो पैसा क्रेडिटको रुपमा सरकारसँग फिर्ता दाबी गर्न पाउँछ । उसले पछि कमाएर तिर्नुपर्छ भन्यो भने पनि पायो । होइन, मेरो नोक्सान भयो भनेर दाबी गर्‍यो भने पनि पायो ।

अहिले आन्तरिक राजस्व विभागले त्यसरी बढी जम्मा भएको कर चेक काटेर फिर्ता गर्न थालेको छ । सरकारले लगानीकर्ता नोक्सानमा परे भने उनीहरुलाई करको भारबाट मुक्त गर्न यो सुविधा ल्याएको हो ।

लगानीकर्तासँग व्यावसायिक कारोबार गर्ने ब्रोकरसँग यो विषयमा छलफल गर्छौं । छलफल नगरी लागू हुँदैन । यो साउनबाट लागू हुने हो । चैतसम्मको समय दिइएको छ । यसमा स्वेच्छाले आउने हो । कसैलाई करकाप गरिने छैन । यसमा आत्तिएर के-के न हुन लाग्यो भन्नु पर्दैन । जो मर्कामा परेका छन्, उनीहरुलाई राज्यले संरक्षण गर्न खोजेको हो ।

अर्थमन्त्रीले यो विषय बुझेर नै सुविधा दिनुपर्छ भनेर ल्याएको हो । बजेट ल्याउनुअघि हामीले भन्दै हिँड्न पाएनौँ । हिजो मात्रै बजेट आएको छ । हामीले बोल्नै पाएका छैनौँ । सबैले ढुक्क भएर व्यवसाय गर्नु । यसबाट कुनै पनि समस्या आउँदैन । त्यसका लागि आन्तरिक राजस्व विभाग जिम्मेवार छ । लगानीकर्ताले ढुक्क भएर कारोबार गर्दा हुन्छ ।   

जसले लगानी गरेको छ, जसले ‘वान टाइम इन्भेस्टमेन्ट’ गरेको छ, उनीहरुका लागि यो लागू हुँदैन । जसले रेगुलर बिजनेसको रुपमा गरेको छ, त्यसको हकमा मात्रै लागू हुने हो । टिडीएस गरेको पैसा क्लेम हुन्छ ।

कुनै लगानीकर्ताले लगानी गरेको छ । नाफा ६ लाख भयो । ६ लाख पारिवारिक छुट नै छ । ६ लाखको १ प्रतिशत अर्थात ६ हजार मात्रै कर तिरे पुग्यो । थोरै आम्दानी भएको मान्छेले राज्यलाई टिडिएसको रुपमा कर तिरिरहेको छ । कम्पनीको जान पाउने अवसर छँदैछ । १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने व्यवस्था गरिएको छ । यसलाई हामीले सकारात्मक रुपमा अघि बढाउने सोचेका छौँ ।

सेयर बजारमा के के न छ, त्यहाँबाट पैसा उठाऔँ भन्ने मनसाय होइन । यसले पुँजी बजारलाई कुनै पनि नकारात्मक र सकारात्मक भूमिका खेल्दैन । खेल्नु पनि हुँदैन । हामी तटस्थ छौँ । म स्वयं नेप्सेको अध्यक्ष भएर बसेको मान्छे ।

मैले यो विषय राम्रोसँग बुझेको छु । लगानीकतालाई सूचना लिएर, सबै विषयमा जानकारी राखेर लगानी गर्नु, कागले कान लग्यो भनेर कागको पछि दौडने होइन कि पहिला आफ्नो कान छामौँ । तपाईंलाई त्यसले असर गर्छ, गर्दैन ? विषय के हो ? भनेर हामी बुझाउँछौं । त्यति गर्दा पनि हाम्रो नियतमा खोट रहेछ भने त्यती बेला औँला उठाउनु । त्यसबेला हामी जवाफ दिन तयार छौँ ।

यो हामीले आर्थिक वर्ष २०७६/७७ बाट सुरु गरेका छौँ । त्यसबाट अघि बढ्ने व्यवस्था गर्न खोजेको हो । हामीलाई लगानीकर्ताहरुले विवरण दिएका छैनन् । यो बाध्यकारी होइन, स्वेच्छिक हो । सुविधा भनेको ढोका खुला गर्ने हो । आउने-नआउने लगानीकर्ताको कुरा हो । हामीले बिजनेस हो भने बिजनेस गरौँ, लगानी मात्रै हो भने लगानी गरौँ, रोजगारी सृजना गर्ने हो भने रोजगारी सृजना गरौँ ।

आफू जे हो त्यसमा अघि बढौँ । भएका सुविधा पनि उपभोग गरौँ । कुनै दायित्व आउँछ भने त्यो बहन गरौँ । हामीले कानुनले दिएका छुट सुविधा पनि लिन जानेका छैनौँ । यति कर तिरेपछि कहाँ के छुट पाइन्छ भनेर हामीले बुझेनौँ । तिर्ने कर अनलाइन सिस्टममा देखिने र उसको खातामा जाने सिस्टम बसाउन लागेको हो । आफ्नो बिजनेस हो कि ? लगानी हो कि ? रोजगारी हो कि ? भन्ने कुरा लगानीकर्ताले छुट्याउनुपर्छ । यसमा अन्योल हुनसक्छ ।

लगानी भनेको एकपटक किन्यो चुप लागेर बस्यो । कुनै बेला बेच्न सक्ला । यस्ता विषय स्वयंले निर्धारण गर्ने हो । कम्पनीमा जाँदा फाइदा हुन्छ या व्यक्तिगत रुपमा बस्दा फाइदा हुन्छ, त्यो निर्धारण गर्ने संवैधानिक अधिकार तपाईंलाई छ । यसमा हामीले पारदर्शिता र जवाफदेहितासहित लगानीकर्ताको हित संरक्षण गर्न ल्याएको हो । यसबाट कुनै ठूलो पैसा आउने भन्ने होइन । यो लगानीकर्तालाई अफर हो । आए पनि हुन्छ । नआउन पनि पायो ।

४० लाखभन्दा बढी आय हुनेले विवरण पेस गर्नुपर्ने व्यवस्था अहिले पनि छ । नभएको हो र ? त्यसमा कोही आउनुभएको छ, कोही आउनुभएको छैन र छुट्नुभएको छ भने यो स्किममा आउनु । जम्मा लाग्ने करमा ५० प्रतिशत छुट दिएको छ । ५० प्रतिशत छुट दिएर पनि टिडिएस कट्टा गरेर बढी भयो भने फिर्ता पाउनुहुन्छ ।

त्यो क्षेत्रमा करको दर बढी भएको हो कि भनेर थाहा पाउन पनि यसले सहयोग गर्छ । अहिले कायम भएको साढे ७ प्रतिशत घटाउनुपर्ने हुनसक्छ । ५ पनि बढी भयो भने घटाउनुपर्ने हुनसक्छ । टिडिएसको रुपमा हेर्ने हो भने यो धेरै नै रेट हो । यो विषयमा हामी लगानीकर्तासँग छलफल गर्छौ । यसले हित गरेको छ भनेर सबैले भन्ने हो भने ठिकै छ ।

यसबीचमा पनि लगानी गरेर नोक्सान व्यहोरेका कति हुनुहुन्छ ? तथ्यांक निकाल्छौँ । तथ्यांक निकालेर तथ्यका आधारमा कुरा गर्छौं । कतिलाई लाभ हुने रहेछ थाहा हुन्छ । तपाईंले यो पैसा फिर्ता पाउनुहुन्छ भन्ने ग्यारेन्टी भयो भने म लिन्न फिर्ता, त्यो पैसा जाओस् भनेर भन्नुहोला कि नभन्नु होला । त्यो सुविधा दिने कि नदिने ?  यो भनेको पीडितलाई सुविधा दिन ल्याएको व्यवस्था हो । यो स्वेच्छिक हो । योभन्दा राम्रो अर्को विकल्प आयो भने बाँकी सबै मिनाहा हुन्छ ।

हामीले भोलिबाट करको दायरामा आएन भने कारबाही हुन्छ भनेको छैन । यसकारण बजार घट्ने-बढने हुनु हुँदैन । यसमा राज्यको नीति त्यही अनुसार हुनुपर्छ । बजार आफ्नो गतिमा चल्नुपर्छ । कहाँ लगानी गर्ने भन्ने विषय लगानीकर्ताले राम्रोसँग बुझेर विश्लेषण गरेर गर्ने हो । मेरो आग्रह पनि यही हो । हल्लाको पछि कोही नलाग्नु होला । आजको भोलि केही पनि हुनेवाला छैन ।

(कुराकानीमा आधारित)


क्लिकमान्डु