पुँजीगत खर्चमा देखिएको समस्या अन्त्य गर्ने बजेट बनाइएको हो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पुँजीगत खर्चमा देखिएको समस्या समाधान गर्ने गरी बनाएको दाबी गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले बजेट प्रणालीमा देखिएका समस्या सुधार गर्ने गरी बजेट निर्माण गरेको बताए ।

‘पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ,’ मन्त्री महतले भने,‘ त्यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौं ।’

ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको मन्त्री महतले बताए ।
‘चालु आर्थिक वर्षमा विकास बजेट ४ खर्ब ७१ अर्ब विनियोजन गरिएको छ,’ महतले भने,‘हामीले पुँजीगत खर्चलाई मात्रै विकास बजेट भन्नु हुँदैन ।’

अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्ने गरी बजेट निर्माण गरेको भन्दै उनले आगामी दिनमा बजेटमा उल्लेख भएका सबै बुँदा कार्यान्वयन आफू प्रतिवद्ध रहेको बताए ।

बिक्रेताले विद्युतीय गाडीमा ठूलो मार्जिन लिएकाले गाडीको उपभोक्ता मूल्य बढी भएको उनको भनाइ थियो । सरकारले आगामी दिनमा इभीलाई प्रवर्धन गर्ने योजना बनाएको महतले बताए ।


क्लिकमान्डु