
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने र कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जुनसुकै आकारको एक थान टेलिभिजनमा भन्सार छुट दिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकका लागि यस्तो सुविधा घोषणा भएको हो ।
तर, यस्तो सुविधा पाउन कम्तीमा एक वर्ष वैदेशिक रोजगारी गरेर फर्किएको हुनुपर्नेछ । अहिलेसम्म वैदेशिक रोजगारीमा गएर फर्किनेहरूले ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सारमा छुट पाउँदै आएका छन् ।
प्रतिक्रिया