अर्थमन्त्रीले बजेट भाषण गर्दा कति पैसा पाउँछन् ?



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दैछन् । आज अपराह्न सवा ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधानले जेठ १५ गतेका लागि बजेट सार्वजनिक गर्ने दिन तोकेको छ ।

बजेट भाषणा अर्थमन्त्रीले गर्ने र त्यसबापत उनले धेरै रकम पाउने चर्चा आम रुपमा हुने गर्छ । के अर्थमन्त्रीले बजेट भाषण गर्दा त्यसवापत पारिश्रमिक पाउँछन् त ?

आमरुपमा अर्थमन्त्रीले बजेट भाषण गर्दा ४/५ लाख रुपैयाँ पाउने गरेको चर्चा हुने गरेको छ । तर वास्तविकता भने त्यस्तो नहुने पूर्वअर्थमन्त्रीहरु बताउँछन् ।

नेपाल सरकारको मन्त्रीको हैसियतले पाउने तलब भत्ताबाहेक बजेट भाषण गर्दा अर्थमन्त्रीले थप रकम नपाउने पूर्वअर्थमन्त्री शंकर कोइराला बताउँछन् ।

‘नेपालमा बजेट भाषण गर्ने अर्थमन्त्रीले पैसा पाउने हल्ला छ, यो हल्ला मैले पनि सुनेको थिएँ । तर, अहिलेसम्म नेपालका कुनैपनि अर्थमन्त्रीले बजेट भाषण गरेको पैसा पाएको मेरो जानकारीमा छैन’ उनले भनेका थिए ।

अहिलेसम्म सबैभन्दा धेरैपटक बजेट भाषण गरेका पूर्वअर्थमन्त्री डा रामशरण महत बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य भएकोले पैसा नआउने बताउँछन् ।

‘मैले पटकपटक भन्दै आएको छु कि बजेट भाषण गरेको पैसा अर्थमन्त्रीले पाउँदैनन् । बजेट भाषण गर्नु अर्थमन्त्रीको कर्तव्य हो । मन्त्री भएबापत तलब र भत्तामात्रै हुन्छ ’ उनले क्लिकमाण्डुसँग भनेका थिए ।

त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि बजेट पढेवापत रकम पाउने निराधार हल्ला भएको बताउँछन् ।

‘अर्थमन्त्रीले बजेट भाषण गरेर पैसा पाउने हल्ला निराधार हो, यो निराधार हल्ला हो । यस्तो हल्लाका पछि नलाग्नुस्’ उनी भन्छन्।


क्लिकमान्डु