चालू आवमा १०४ किमी नयाँ सडक निर्माण, ७५ वटा पुल थपिए



काठमाडौं । चालू आवमा संघीय सरकारबाट थप १०४ किमी नयाँ सडकको निर्माण भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले चालू आर्थिक वार्षको फागुनसम्म १०४ किमी नयाँ सडक निर्माण गरेको हो ।

त्यस्तै, चालू आवको फागुनसम्ममा सरकारले ७५ वटा पुलको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै, यो अवधिमा ३१६ किमी सडक ग्रावेल स्तरमा र ३४८ किमी सडक कालोपत्रेमा स्तरोन्नति भएको छ । यहि अवधिमा ८ हजार २५४ किमी सडक नियमित तथा पटके मर्मत भएको छ भने २७८ किमी सडकको आवधिक मर्मत भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै, चालू आवको फागुनसम्म १७ हजार ४ सय ८० किमी सडक कालोपत्रे, ७ हजार ९५३ किमी सडक ग्रावेल र ८ हजार ६६४ किमी कच्ची सडक गरि संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाई ३४ हजार १ सय किमी पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्चि सडक २५.५ प्रतिशत रहेको छ ।

सरकारले निर्माण गरेको नयाँ सडकलाई विगतसँग तुलना गर्दा आव २०७५/७६ मा ४४० किमी, २०७६/७७ मा ३६५ किमी, २०७७/७८ मा ४७२, २०७८/७९ मा २८० किमी थियो ।

त्यस्तै, आव २०७५/७६ मा २३०, २०७६/७७ मा २१०, २०७७/७८ मा १९२ र २०७८/७९ मा २८२ वटा पुल निर्माण भएका थिए ।


क्लिकमान्डु