बीमकको पुनर्बीमा निर्देशिका जारी, यस्तो छ व्यवस्था
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका–२०८० जारी गरेको छ ।
निर्देशिकामा बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार ( पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्ने उल्लेख छ।
बीमकले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख/प्रति जोखिममा बीमकको धारण नेपालभित्र रहेको आफ्नो नेटवर्थको अधिकतम् धारण जीवन बीमकको हकमा ०.५ प्रतिशत र निर्जीवन बीमकको हकमा ५ प्रतिशत भन्दा बढी हुनु हुँदैन ।
जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सकिनेछ ।
विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरिरहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिनेछ ।
बीमकले ट्रिटी पुनर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरे पश्चात बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ ।
बीमकहरुले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडिवुटी बीमा तथा विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ बीमा बाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमा नै शत प्रतिशत पुनर्बीमा गर्नुपर्ने छ र त्यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न पाउने छैन ।
यस्तै बीमकले जारी गरेको प्रत्येक बीमालेख अन्तर्गत आफुले धारण गरेको अंशको जोखिम तथा वा पुनर्बीमा व्यवस्था अनुसार हुन आउने अधिक जोखिमको प्रयाप्त मात्रामा महाविपत्ति पुनर्बीमा सम्बन्धी व्यवस्था गर्नुपर्ने छ ।