९ सय करोडमा बनेको भारतीय नयाँ संसद् भवन मोदीद्वारा उद्घाटन, बिपक्षीले गरे वहिष्कार
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसद्को नयाँ भवन उद्घाटन गरेका छन् । आइतबार मोदीले औपचारिक कार्यक्रमका बीच नयाँ संसद् भवनको उद्घाटन गरेका हुन् ।
विपक्षी दलहरुको बिरोधका बीच भारतीय प्रधानमन्त्री मोदीले भारतको नयाँ संसद् भवन उद्घाटन गरेका हुन् । बेलायती औपनिवेशको समयमा निर्माण भएका भारतीय संरचनाहरुलाई पुर्ननिर्माण तथा वास्तुकलामा परिवर्तन गर्ने मोदीले चलाएको एक हिस्सा नयाँ संसद भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
नयाँ संसद् भवनअगाडि सांस्कृतिक प्राथनालगायतका कार्यक्रमहरु भएका थिए । विभिन्न मन्त्रीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा मोदीले भवनभित्र दियो बालेसँगै औपचारिक उद्घाटन भएको थियो ।
तर, उद्घाटन कार्यक्रममा २० विपक्षी पार्टीहरु भने उपस्थिति थिएन् । विपक्षीहरुले नयाँ संसद् भवनको उद्घाटन राष्ट्रपतिले गर्नुपर्छ भन्ने आग्रह गरिरहँदा पनि मोदीले भने सो प्रस्तावलाई अस्वीकार गर्दै आइतबार आफैंले उद्घाटन गरेका हुन् । जसकारण विपक्षीहरुको उपस्थिति कार्यक्रममा देखिएन ।
विपक्षीहरुले राष्ट्रपति नै देशको शीर्ष व्यक्ति हुने र उनले गनुपर्ने उद्घाटनको कार्यक्रम प्रधानमन्त्रीले गर्न नमिल्ने भनेर आलोचना गरिरहँदा मोदी सरकारले भने कुनै पनि किसिमको प्रोटोकललाई उल्लंघन नगरेको भारतीय जनता पार्टीले जनाएको छ ।
भारतको नयाँ संसद भवन भारत सरकारले यस्तो परियोजनाको केन्द्रबिन्दु हो, जुन भारतमा बेलायती औपनिवेशिक कालमा निर्माण भएका भवनहरुको वास्तुकलालाई परिवर्तन गर्ने र भारतीय पहिचान सहितका आधुनिक भवनहरुको निर्माण गर्ने उदेश्यले सुरु गरिएको छ ।
नयाँ संसद् भवनको उद्घाटनका क्रममा भारतीय प्रधानमन्त्ती मोदीले भारतको स्वतन्त्रताका लागि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली दिएका थिए । सँगै उनले ७५ रुपैयाँको नयाँ सिक्का पनि सार्वजनिक गरेका छन् ।
यो संसद् भवनको शिलान्यास सन् २०२० डिसेम्बर १० मा भएको थियो । भारतीय सञ्चारमाध्यमहरुकाअनुसार यो संसद भवनको निर्माणमा ९ सय करोड रुपैयाँ लागत रहेको छ । यस नयाँ भवनभित्र लोकसभामा ८ सय ८८ र राज्यसभाका लागि ३ सय ८४ सिटको व्यवस्थापन गरिएको छ ।