बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो



काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।

काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । ‘नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ’ उनले भने ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए ।

नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो ।

लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर१०–१० रुपैयाँ र पेट्रोलमा तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो ।

घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका छन् ।


क्लिकमान्डु