नक्कली भुटानी शरणार्थी प्रकरण: १६ आरोपितमाथि आज बयान



काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा चलाइएको ३० मध्ये १६ जनाको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान सुरु हुने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० मध्ये पक्राउ परेका १६ जनाविरुद्ध आजदेखि बयान सुरु हुने भएको हो । बाँकी १४ जना भने फरार छन् ।

आजै आरोपितविरुद्धको मुद्दाको पेसी तोक्ने र सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ । बयानपछि अभियुक्तलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, मन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत विरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

मुलुकी अपराध संहिताअनुसार आरोप प्रमाणित भए ७ वर्षसम्म कैद र ७० हजार रुपैयासम्म या दुवै सजाय हुने व्यवस्था छ । सरकारी कागजात किर्तेमा पनि सोही बमोजिम सजायको व्यवस्था छ । अभियोग पत्रमा अपराध संहिताको दफा ४३ अनुसार एकीकृत कसुरअन्तर्गत सजाय मागदावी गरिएको छ ।


क्लिकमान्डु