राष्ट्रपति कार्यालयमा पुग्यो रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव



काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ । कैलालीको टीकापुर घटनामा चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

चौधरीलाई गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको हो ऽ

राष्ट्रपति कार्यालयका अनुसार चौधरीलाई आममाफी दिने प्रस्ताव बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेको हो ।

उनलाई माफि दिने प्रस्तावका विषयमा भोलिदेखि अध्ययन हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यस प्रस्तावका बारेमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेका छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा हिंसात्मक प्रदर्शन हुँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो ।

सो घटनामा दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएका थिए । केही दिन अघिमात्र सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेको थियो ।


क्लिकमान्डु