पाँचखाल खानेपानी आयोजना: सात हजार घरमा पानी पुर्‍याइने



काभ्रे । सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढेको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र सो कार्य सम्पन्न हुने भएको छ ।

विसं २०७६ भदौमा सम्झौता गरिएको सो आयोजनाको काम २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो ।

कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो । 

नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ १ अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको हो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । प्रतिउपभोक्ता परिवारले खानेपानी आयोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका छन् ।

आयोजनाको काम ८५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । केही स्थानमा पानी परीक्षण पनि गरिएको छ ।

दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने बताइएको छ । आयोजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएका छन् । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ । 

अध्यक्ष लामिछानेका अनुसार आयोजनामा दैनिक एक सय ३० कामदार खटिएका छन् । पाँचखालमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्‍याउने काम भइसकेको छ । करिब ४ हजार घरमा धारा जडानको काम सकिएको छ । (रासस)


क्लिकमान्डु