पूर्वगृहमन्त्री बादलका सल्लाहकारको खातामा ३ करोड ४५ लाख, श्रीमतीका नाममा किने १ रोपनी जग्गा



काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकारसमेत रहेका शरणार्थी प्रकरणका प्रतिवादी डा इन्द्रजित राईले विभिन्न समयमा गरि ३ करोड ४५ लाख ५३ हजार रुपैयाँ लिएको पाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा दर्ता गरेको आरोपपत्रमा राईको एनआईएमबी बैंकको खातामा सन् २०२१ सेप्टेम्बर ६ देखि २०२१ अक्टोबर ३ सम्म ३ करोड ४५ लाख ५३ हजार रुपैयाँ दाखिल भएको देखिएको उल्लेख छ ।

यसरी जम्मा भएको रकमबाट राईले केही रकम ऋण तिरेका थिए भने अन्य रकमबाट श्रीमतीको नाममा तीन ठाउँमा जग्गा खरिद गरेका थिए ।

राईले २०२१ को मे ४ मा ७३ लाख ऋण लिएकोमा सो रकम सेप्टेम्बर ७ मा ७३ लाख ८५ हजार बैंकमा दाखिल गरेको देखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

भुटानी शरणार्थीका नामा उठाएको पैसाले राईले विभिन्न मितिमा फरकफरक कित्ताको १ रोपनी बढी जग्गा खरिद गरेका थिए ।

राईले २०७६ साल असोज ९ गते श्रीमती भुवनदेवी राईको नाममा ८ आना १ पैसा जग्गा ७७ लाखमा किनेका थिए भने, २०७८ साल वैशाख १४ गते ४ आना जग्गा १ करोड ८३ लाखमा खरिद गरेका थिए । त्यस्तै २०७७ साल असार २ गते ४ आना जग्गा खरिद गरि देखिएको सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लख गरिएको छ ।

राईले अन्य प्रतिवादीहरु सानु भण्डारी केशवप्रसाद दुलाल टोपबहादुर रायमाझीसमेतसँग मिलेमतो गरी आपराधिक समूह बनाइ समूहका सदस्यको जिम्मेवारी तोकि जाहेरवालाबाट संकलन गरेको रकम संगठीत रुपमा ठगी गरेकोले मुलुकी अपारध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आएको दाबी अभियोगपत्रमा गरिएको छ ।


क्लिकमान्डु