शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले मियाँले भारतको गोरखपुर पुगेर खोलामा फालेका थिए आईफोन १३ प्रो म्याक्स



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका मध्येका एक प्रतिवादी शमसेर मियाँले पक्राउ परिने डरले भारत पुगेर मोबाइल फालिदिएको बयान दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी गाडी गिरोहलाई दिएको अनुसन्धानका क्रममा खुलेपछि पक्राउ परेका मियाँले आफू रामबहादुर थापा बादल गहमन्त्री भएको बेला तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सिफारिसमा हज समितिको अध्यक्ष बनेको बयानमा उल्लेख गरेका छन् ।

हज समितिको अध्यक्ष भएपछि आफूलाई गृहमन्त्रालयबाट उपलब्ध भएको गाडी सन्देश शर्माले पारिवारिक काम छ भनेकाले दिएको र आफूलाई यो प्रकरणबारे केही थाहा नभएको उनको दाबी छ ।

सानु भण्डारी, केशवप्रसाद दुलाल, सन्देश शर्मा लगायतले नेपाली नागरिकलाई तेस्रो मुलुकसमेत पठाउने कार्य हुँदै छ भनी एकआपसमा कुराकानी गरेको आफूले सुनेको उनले बयानका क्रममा भनेका छन् ।

उच्च पदस्थ कर्मचारी पक्राउ परिसकेको र आफ्नो नामसमत जोडिन आएपछि प्रहरीले पक्राउ गर्न सक्छ भन्ने लागेर आफूले बोकिरहेको आईफोन १३ प्रो म्याक्स भारतको गोरखपुर पुगेर खोलामा फ्याँकिदिएको उनले बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज नक्कली शरणार्थी प्रकणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु