सर्वसाधारणलाई अर्थ मन्त्रालयको ढोका बन्द, बजेट लेखन अन्तिम चरणमा



काठमाडौं । बजेट निर्माण अन्तिम चरणमा पुगेको भन्दै अर्थ मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ ।

गत वर्ष प्रणालीबाहिरका व्यक्तिले करका दर हेरफेर गरेको आरोप लागेकाले सर्वसाधारणलाई जेठ १५ सम्म मन्त्रालय प्रवेशमा कडाइ गरिएको अर्थमन्त्रीको सचिवालयका कर्मचारी बताउँछन् ।

‘जेठ १५ सम्म बजेट निर्माणसँग सम्बन्धित कर्मचारीबाहेक कसैलाई पनि मन्त्रालयमा प्रवेश नगराउन मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ सचिवालयका एक कर्मचारीले भने, ‘त्यसैले असम्बन्धित व्यक्तिलाई भित्र नपठाउन प्रहरीलाई निर्देशन दिइएको हो ।’

सोमबारसम्म मन्त्रीको सचिवालयमा जाने कर्मचारीलाई सहजै जान दिइएकोमा आजदेखि कर्मचारीबाहेकको हकमा प्रणालीभित्रका व्यक्तिले बोलाएकालाई मात्र प्रवेश दिइएको अर्थ मन्त्रालयको सुरक्षामा खटिएका प्रहरीले जानकारी दिए ।

‘भित्रबाट बोलाएका मानिसलाई रोकेका छैनौं,’ सुरक्षामा खटिएका एक प्रहरीले भने, ‘आगामी सोमबार संसदमा बजेट पेस नहुँदासम्म मन्त्रालय प्रवेशमा कडाइ गर्न निर्देशन छ ।’

अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको नेतृत्वमा गठन भएको बजेट लेखन समितिले आगामी आर्थिक वर्षको बजेट भाषणलाई अन्तिम रुप दिइरहेको छ ।

यस्तै, मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरबहादुर खत्री नेतृत्वको टिमले आगामी वर्षको बजेटमा समेटिने कार्यक्रमलाई टुंग्याइरहेको छ ।

‘सबै मन्त्रालयले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा बढी रकम माग गरेका छन्,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘कुन कार्यक्रम राख्ने र कुन काट्ने भन्ने छनोट गर्न निकै कठिन छ ।’

मन्त्रालयका अधिकारीहरु चालू खर्च कटौती गर्ने र पुँजी खर्चको प्राथमिकीकरण गर्ने विषयमा ठूलो निर्णय हुने सम्भावना नरहेको बताउँछन् । योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेटको सिलिङ दिए पनि त्योभन्दा ठूलो आकारको बजेट आउने उनीहरुको भनाइ छ ।

यस्तै, करका दर हेरफेर सम्बन्धमा मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भन्सार विभाग र आन्तरिक राजस्व विभागसँग समन्वयमा काम गरिरहेको छ ।

‘शनिबार मन्त्रीज्यूले करका दरका विषयमा निर्णय नगर्दासम्म कुन क्षेत्रमा के हुन्छ भन्न सकिने अवस्था छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘भ्याट छुटको सूची हटाउनुपर्ने, अन्त:शुल्कसम्बन्धी नीति परिमार्जन गर्नुपर्ने, विलासी कर लगाउनुपर्नेलगायतका विषय समेट्दै हामीले प्रतिवेदन तयार गरिसकेका छौं ।’


क्लिकमान्डु