थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते



एजेन्सी । थाइल्यान्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा ७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।  थाई सरकारका प्रवक्ताले मंगलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका हुन् ।

दुर्घटना बेलुका करिब ७ बजे भएको थियो । स्थानीय समयअनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

प्रधानमन्त्री प्रयुत चान-ओ-चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् । स्थानीय  सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्‍याउँदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारी भग्नावशेषमा फसेका थिए ।

फिचिटका गभर्नर पायोन असवापिचायोनले मंगलबार प्रभावित स्थलको भ्रमण गरेका छन् । त्यहाँ करिब १ सय स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्यांकन भइरहेको जानकारी उपलब्ध गराएका छन् ।

विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबारदेखि वर्षायाम सुरु भएपछि थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


क्लिकमान्डु