नीति तथा कार्यक्रमको विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल कोहीसँग छैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बिरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल कसैसँग नरहेको बताएका छन् ।

आफू प्रधानमन्त्री बन्दा संसदका सबैदलको समर्थन पाएको र त्यसबेलाको न्यूनतम साझा कार्यक्रमको धरातलमा उभिएर नीति तथा कार्यक्रम बनेकाले यसको अति बिरोध र अति समर्थन आवश्यक नभएको उनको भनाइ छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा आफू अगाडि बढेको पनि बताए । नीति तथा कार्यक्रम सबैको राष्ट्रिय सहमतिको बन्न गएको उनको भनाइ छ ।

‘सैद्धान्तिक, राजनीतिक र नैतिक धरातलमा उभिएर भन्ने हो भने यो नीति तथा कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको बन्न गएको छ । यो मौलिक विशेषयता दुर्लभ भेटिन्छ, सधैं यस्तो भेटिँदैन । हामी अहिले सत्ता र प्रतिपक्षमा त छौं तर यस्तो चरित्र पृष्ठ भूमिसहित छौं कि हामीले साझा नीति कार्यक्रम सामूहिक रूपले सार्वजनिक गर्‍यौं । त्यसको जगमा सरकारको नीति तथा कार्यक्रम बनेको हुनाले अतिमा गएर यसको विरोध गर्ने पनि सैद्धान्तिक र नैतिक धरातल देखिँदैन । अतिमा गएर समर्थन गर्नुपर्ने पनि छैन,’ प्रधानमन्त्रीले भने , ‘हिजो प्रतिपक्षमा रहेकाको पनि र आज प्रतिपक्षमा रहेकाको पनि विचार, धारण, योजना, साझा न्यूनतम कार्यक्रम यसमा समेटिएका छन् ।’

नीति तथा कार्यक्रमले देशका समस्या समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको उनले बताए ।

उनले यसपटकको नीतिलाई परम्परागत भनेर आलोचना गर्न नमिल्ने तर्क गरे ।


क्लिकमान्डु