सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली बजेट माग्न सिंहदरबारमा



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।

भेटमा आयोगका उपाध्यक्ष डा श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताए ।

कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदरपश्चिम काठमाडौँको धेरै टाढा नरहेको उनको भनाइ छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई समेटेको भन्दै आयोग उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइनेमा विश्वास दिलाए ।


क्लिकमान्डु