ब्रोकर लाइसेन्स वितरणमा अर्थ समितिको चासो, ५ दिनभित्र कागजात पेस गर्न बोर्डलाई निर्देशन



काठमाडौं । अर्थ समितिले सेयर ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाका विषयमा जानकारी मागेकै दिन नेपाल धितोपत्र बोर्डले ७ कम्पनीलाई नयाँ लाइसेन्स दिएको छ ।

जेठ २ गते बसेको समितिको बैठकले सेयर ब्रोकर र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्न भएका काम कारबाहीको विषयमा धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसँग जानकारी माग्ने निर्णय गरेको थियो ।

उक्त निर्णयका आधारमा समिति सचिवालयले सोमबार बोर्डलाई पत्र लेख्दै लाइसेन्स वितरणका लागि हालसम्म गरेका कामकारवाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण ५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले पुँजीबजारका विभिन्न पक्ष समेटेर २०७७ असार ३० प्रतिवेदन तयार गरेको थियो।

धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स बाँडन थालेपछि संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बृहत अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘पुँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन २०७७ असार ३० को पत्रबाट बोर्डलाई कार्यान्वयनको लागि पठाइएको पृष्ठभूमिमा हालसम्म भएका कामकारवाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग माग गर्ने निर्देशन भएकोले पत्र प्राप्त भएको मितिले ५ दिनभित्र सम्पूर्ण विवरण समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको कामकारबाहीमा सहयोग पुयाउनु हुन अनुरोध छ’ समितिले बोर्डमा पठाएको पत्रमा उल्लेख छ ।

सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ७ वटालाई लाइसेन्स दिएको छ । नियमावलीले तोकेको मापदण्ड पुरा गरेको भन्दै हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई ब्रोकरको लाइसेन्स दिएको छ ।


क्लिकमान्डु