अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार कम्पनीको मूल्य निर्धारण समिति गठनका लागि सूची दर्ता आह्वान



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापनका लागि मूल्य निर्धारण समिति गठन गर्न सूची दर्ता गर्न आह्वान गरेको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र सिलबन्दी सूची दर्ता गर्न आह्वान गरेको हो ।

प्राधिकरणकाअनुसार ५ सदस्यीय समिति दर्ता गर्न सकिनेछ । प्रचलित कानुन अनुसार सूचीकृत मूल्यांकनकर्ताको रुपमा कम्पनीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरि कम्तीमा १५ वर्ष लेखापरिक्षकको रुपमा काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापनको क्षेत्रमा १५ वर्ष काम गरेको व्यक्ति संयोजक हुनुपर्नेछ ।

त्यस्तै, चार सदस्यमध्ये मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेसीको शैक्षिक उपाधि हासिल गरेको एक जना, सूचिकृत सम्पत्ति मूल्यांकनकर्ता–सदस्यअन्तर्गतका एक जना, सूचना प्रविधिध वा दूरसञ्चार क्षेत्रको विज्ञ एक जना र कानुन वा व्यवस्थापनको क्षेत्रमा कम्पनीमा १० वर्षको कार्य अनुभव भएको व्यक्ति एक जना रहने प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय अनुमति पत्र बहाल नगरेका कारण स्मार्ट टेलिकम नामकको दूरसञ्चार सेवा प्रदायक प्राधिकरणको नियन्त्रणमा आएको थियो । गत वैशाख २१ गतेबाट उक्त टेलिकमको सम्पूर्ण सम्पत्तिलाई प्राधिकरणले आफ्नो मताहतमा लिएको थियो ।


क्लिकमान्डु