ओलीले संसदमा पीडा र व्यथा पोखे: माधव नेपाल



काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसदमा पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीको नामै नलिइ अध्यक्ष नेपालले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताए ।

ओलीले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा धेरै कुरा उल्लेख नगरिएकोले यसलाई स्वीकार गर्न नसकिने बताएका थिए । सोमबार (आज) अध्यक्ष नेपालले ओलीले संसदमा गरेको अभिव्यक्ति अरुलाई घोचपेच हुने गरी आएको भन्दै आलोचना गरेका हुन् ।

एमाले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन नेपालको आग्रह थियो । अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोप लगाए ।

ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको उनले बताए ।

‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यक्ता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गरौं’ नेपालले भने, ‘कमीकमजारी भएका छन भने ती कमीकमजोरीको पहिचान गरौं । त्यसलाई सुधार गरौं । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो ।’

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए ।


क्लिकमान्डु