बम प्रहारले जापानको हिरोसिमा जस्तै भयो युक्रेनको बखमुत सहर



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत सहरको ‘विनाश’लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोसिमामा भएको विनाशसँग तुलना गरेका छन् ।

युद्धपूर्व ७० हजार जनसंख्या भएको बखमुत रूसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ ।

महिनौँसम्म चलेको भीषण लडाइँको समयमा बखमुतबाट यदाकदा देखाइएका दृश्यमा उक्त स्थानलाई भग्नावशेषको सहर देखाइएको छ ।

‘हिरोसिमाको फोटोले मलाई बखमुतको सम्झना गराउँछ । त्यहाँ केही पनि जीवित छैन,’ जेलेन्स्कीले भने, ‘सबै भवन ध्वस्त छन् । पूर्णरूपमा विनाश भएका छन् । त्यहाँ मानिस छैनन् अर्थात् केही पनि छैन ।’

जेलेन्स्कीले जापानले हिरोसिमामा गरेको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी सहर र सहरहरूको पुनर्निर्माण गर्न प्रेरित गरेको बताए ।

‘अहिले, हिरोसिमाको पुनर्निर्माण भएको छ । सहर राम्रो उदाहरण बनेको छ,’ उनले भने, ‘हामी हाम्रा सबै सहर पुनर्निर्माण गर्ने सपना देखेका छौं, जुन अहिले भग्नावशेषमा परिणत भएका छन् । रूसी आक्रमणपछि धेरै गाउँमा एउटा पनि घर बाँकी छैन ।’

रूसले बखमुतलाई पूर्णरुपमा नियन्त्रणमा लिएको दाबी गरेको एक दिनपछि जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले स्पष्ट जवाफ नदिईकन रूसी सेना बखमुतमा रहेको तर त्यसलाई कब्जामा नलिएको बताएका छन् ।


क्लिकमान्डु