बाल यौनदुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन: बालबालिकालाई लहरै राखेर यौनजन्य गतिविधि गर्न लगाउँथे राई



काठमाडौं । खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम्) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । सार्वजनिक अध्ययन प्रतिवेदनमा आफूलाई कृषि वैज्ञानिक भन्ने मदन राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा मदन फाउण्डेशनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरुलाई निर्वस्त्र भइ अश्लिल शब्दहरु प्रयोग गर्ने, निर्वस्त्र भइ मसाज गर्न लगाउने, संवेदनशील अंगहरुमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको पाइएको उल्लेख गरिएको छ ।

स्थलगत अध्ययन समितिको प्रतिवेदनबारे जानकारी दिँदै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले विद्यालयको प्रार्थनाको समय वा अन्य कुनै समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकाहरुलाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने/गर्न लगाउने गरेको पाइएको बतए ।

राईले शहरी शिक्षका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरुमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजश्वला भए/नभएको बारेमा पनि सोधपुछ गर्ने गरेको पाइएको बताए ।

अध्ययन समितिले विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र उक्त क्याफेहरुमा कमचारीको रुपमा बालबालिका र किशोरीहरुलाई काम लगाउने गरेको पाइएको बताएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राईलाई पक्राउ गरेपछि बालबालिकाहरुलाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै अध्यक्ष राईमाथि समेत यौन दुर्व्यवहारको आरोप लागेको तर जाहेरी दर्ता नभएको कारण मुद्दा दर्ता प्रक्रिया अघि नबढेको शर्माले बताए ।

विद्यालयभित्र जोसुकैले पनि प्रवेश गर्न पाउने भएकाले बालबालिकाहरु थप जोखिममा रहेको निस्कर्ष प्रतिवदेनले निकालेको छ । त्यस्तै विद्यालयले सञ्चालन गरेको आवास गृह कतै पनि दर्ता नगरेको पाइएको अध्यक्ष शर्माले बताए ।

अध्ययन समितिले पीडित बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानून विपरितका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको औंल्याएको छ । राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेको र प्रहरीले मदन राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु