साढे ९ अर्ब रुपैयाँ बढीका बिमा पोलिसी सरेन्डर



काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा बिमितहरुले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको यस अवधिमा जीवन बिमा कम्पनीका बिमितहरुले ९ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बिमालेख सरेन्डर गरेका हुन् ।

जीवन बिमा कम्पनीहरुबाट बिमितहरुले साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बिमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा बिमालेखहरु त्याग गरेका थिए ।

यस्तै, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बिमालेख, पुसमा ७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बिमालेख, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा बिमालेख, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बिमालेख र चैतमा १ अर्ब १ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बिमालेखहरु बीमितले त्याग गरेका हुन् ।

चैतमा मात्रै एक अर्ब बढीको पोलिसी त्याग, कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको चैतमा मात्रै बीमितहरुले जीवन बिमा कम्पनीहरुबाट १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरका ९ हजार ३५८ वटा बिमालेख त्याग गरेका छन् ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बिमितहरु रहेको छन् । चैत महिनामा कुल सरेन्डर भएको बिमा पोलिसी मध्ये २८.८३ प्रतिशत अर्थात २ हजार ६९८ वटा बिमालेख वापत ४२ करोड २२ लाख ५८ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)को धेरै बिमालेखहरु सरेन्डर भएको प्राधिकरणले जनाएको छ । एलआईसीबाट बिमितहरुले १८ करोड ३७ लाख रुपैयाँ बराबरका १ हजार ५५५ वटा बिमालेखहरु त्याग गरेका छन् । यो कुल सरेण्डर पोलिसीको १६.६२ प्रतिशत हो ।

यस्तै, बिमितहरुले राष्ट्रिय बीमा संस्थानबाट १० करोड ५६ लाख रुपैयाँ बराबरको १ हजार ४२३ वटा बिमालेखहरु सरेन्डर गरेका छन् । यो कुल सरेन्डर पोलिसीको १५.२१ प्रतिशत हो ।

यस्तै, प्राधिकरणका अनुसार सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपालबाट बिमितहरुले ३२ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ वटा मात्रै पोलिसीहरु त्याग गरेका छन् ।

यस्तै, नेशनल लाइफबाट ७ करोड ७३ लाख रुपैयाँका ६६२, मेट लाइफबाट ५ करोड ५८ लाख रुपैयाँका ५२६, एशियन लाइफका ४ करोड २२ लाख रुपैयाँका ५८९, गुराँस लाइफका ७ करोड ६ लाख रुपैयाँका २७०, प्राइम लाइफका २ करोड ८३ लाख रुपैयाँका ४४६, आइएमई लाइफका १ करोड २४ लाख रुपैयाँका १४७, यूनियन लाइफका २ करोड ३२ लाख रुपैयाँका ७०, रिलयाबल नेपालका ७५ लाख रुपैयाँका ११४, सिटिजन लाइफका १ करोड ३४ लाख रुपौयँका १५१, प्रभु लाइफका ५४ लाख रुपैयाँका ३, महालक्ष्मी लाइफका ७१ लाख रुपैयाँका ३१, सूर्यज्योति लाइफका १०क रोड ४८ लाख रुपैयाँका ५२१ र सानीमा रिलायन्सका ९१ लाख रुपैयाँका ८६ वटा पोलिसी त्याग भएका छन् ।

जीवन बिमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेन्डर गर्नु हो । निश्चित अवधिका लागि खरिद गरिएको पोलिसीलाई परिपक्व अवधिसम्म निरन्तरता नदिने बिमितको संख्या बढ्दै गएको देखिन्छ ।

बिमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक पर्नु हो । आर्थिक संकट पर्दा बीमितले आफूले खरिद गरेको पोलिसीलाई सरेन्डर गर्ने बिमकहरु बताउँछन् ।

हाल प्राधिकरणद्धारा जारी निर्देशिका अनुसार बिमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनुअघि बिमितले बिमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बिमालेख त्याग गर्न सक्थे ।

निर्देशिकामा बिमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरिएको छ । बिमितलाई बिमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बिमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने व्यवस्था छ ।


क्लिकमान्डु