ह्वाट्सएपमा ‘च्याट लकिङ’ सुविधा
एजेन्सी । म्यासेजिङ एप ह्वाट्सएपले ‘च्याट लक’ सुविधा सुरु गरेको छ । ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट गर्दै यो सुविधाको बारेमा जानकारी दिएका हुन् ।
ह्वाट्सएपमा आएको यो नयाँ सुविधाको प्रयोग गरेर प्रयोगकर्ताले कुनै पनि निश्चित च्याट वा म्यासेजलाई लक गर्न (पासवर्ड राखेर सुरक्षित गर्न) सक्नेछन् । यो विशेषताको माध्यमबाट प्रयोगकर्ताले मात्रै आफ्नो च्याटलाई हेर्न पाउनेछन् । लक गरिएको म्यासेजलाई मोबाइल फोनकै पिन वा बायोमेट्रिकको सहायताले अनलक गर्न सकिनेछ ।
जुकरबर्गकाअनुसार ह्वाट्सएपको यो नयाँ विशेषताले प्रयोगकर्ताको कुराकानीलाई थप सुरक्षित बनाउनेछ । लक गरिएको च्याटहरु एउटा पासवर्ड प्रोटेक्टेड (पासवर्डले सुरक्षित गरिएको) फोल्डरमा रहनेछ भने लक गरिएको च्याटमा नयाँ म्यासेज आउँदा त्यसको नोटिफिकेसनमा पनि कुराकानी भने देखिनेछैन ।
यो विशेषता प्रयोग गर्नका लागि ह्वाट्सएपको नयाँ भर्जनलाई अपडेट गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो एकाउन्ट खोलेर च्याट लक फिचरमा क्लिक गरेर जुन सुकै कुराकानीलाई लक गर्न सक्नेछन् ।
यसरी लक गरिएको म्यासेज वा च्याट हेर्नका लागि होमपेजमा नै ‘लक्ड च्याट’ नामको फोल्डर हुनेछ, जुन प्रयोेगकर्ताको फोनमा राखिएको पासवर्ड वा पिन वा बायोमेट्रिकको सहायताले खुल्नेछ ।