बिमालेख धितो राखी बिमितले लिए ८० अर्ब कर्जा



काठमाडौं । जीवन बिमा कम्पनीले बिमालेख धितो राखेर बिमितलाई दिने कर्जा ३२.३६ प्रतिशतले बढेको छ ।

जीवन बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १९ अर्ब ६५ करोड १७ लाख रुपैयाँ बढी हो । गतआवको सोही अवधिमा ६० अर्ब ७२ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

जीवन बिमालेख खरिद गरेका बिमितले आफ्नो बिमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ । बीमितले बिमा कम्पनीमा बिमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन्।

बिमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बिमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट मुक्त समेत मानिन्छ । जस कारणले गर्दा बिमालेख धितो राखी कर्जा लिने बिमितको संख्या बढ्दै गएको देखिन्छ।

कुन कम्पनीबाट कति ?

तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बिमितले आफ्नो बिमालेख धितोमा राखि २९ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आवको तुलनामा जुन ३९.१० प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्मको अवधिमा कम्पनीले बिमालेख धितोमा राखि २३ अर्ब २२ करोड ८६ लाख रुपैयाँ कर्जा दिएको थियो ।

नेपाल लाइफका बिमित पछि एलआईसी नेपालका बिमितले बिमालेख धितो राखी २१ अर्ब ४९ करोड २२ लाख रुपैयाँ कर्जा लिएका छन् । नेशनल लाइफका बिमितले बिमालेख धितो राखी १० अर्ब ५ करोड र एशियन लाइफका बिमितले ४ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ कर्जा लिएका छन् ।

प्राइम लाइफका बिमितले २ अर्ब ६९ करोड, र सूर्यज्योति लाइफका बिमितले ३ अर्ब ४९ करोड, मेट लाइफका बिमितले १ अर्ब ४९ करोड, गुराँस लाइफका बिमितले १ अर्ब ४७ करोड, यूनियन लाइफका बिमितले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएका छन्।

यस अवधिमा सानिमा रिलायन्सले ९९ करोड ३२ लाख, सन नेपाल लाइफले ८५ करोड ८८ लाख रुपैयाँ, प्रभु लाइफले ५८ करोड २१ लाख, आइएमई लाइफले ५६ करोड ५८ लाख रुपैयाँ, सिटिजन लाइफले बिमालेख धितोमा राखी ४८ करोड ४७ लाख, रिलायबल नेपाल लाइफले २६ करोड ५४ लाख र महालक्ष्मी लाइफले २९ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

कति तिर्नुपर्छ ब्याज ?

नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका अनुसार बिमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ । साथै, एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखको हकमा समेत बिमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बिमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

बिमा कम्पनीहरुले बिमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था प्राधिकरणद्धारा जारी निर्देशिकाले व्यवस्था गरेको छ । ब्याजदरको निर्धारण गर्दा भने बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको बयाजदर भन्दा बढी नहुने गरी बिमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

जीवन बिमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघले बिमालेख धितोमा कर्जा प्रवाह गर्दा १२ प्रतिशतसम्म ब्याज लिन सक्ने निर्णय गरेसँगै कम्पनीहरुले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरेका छन् । जसका आधारमा कम्पनीहरुले ब्याजदर १२ प्रतिशतसम्म पुर्याएका छन् । भने केही कम्पनीहरुले ११ प्रतिशत ब्याजदर मै कर्जा प्रवाह गरेका छन् । यसअघि बिमालेख धितोमा राखी कम्पनीहरुले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका थिए ।


क्लिकमान्डु