प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर घट्दो, बागमतीको सबैभन्दा कम




काठमाडौं । प्रदेशस्तरीय कुल गार्हस्थ उत्पादन (जीडीपी) को वृद्धि दर विगतको तुलनामा घट्ने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आव २०७९/०८० को प्रदेशस्तरीय कुल गार्हस्थ उत्पादनको वृद्धि दर विगतका वर्षहरुको तुलनामा कम हुने अनुमान गरिएको हो ।

कुल गार्हस्थ उत्पादनको वृद्धि दर चालु आवमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.३ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.४ % रहने अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । संशोधित अनुमान अनुसार गत आवमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५% देखियो भने मधेश प्रदेशमा सबैभन्दा कम दर ४.६% रहने देखिएको छ ।

आव २०७९/०८० मा कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धि दर २.० प्रतिशत रहने अनुमान छ । त्यस्तै, मधेशमा १.७, बागमतीमा १.४, गण्डकीमा ३.३, लुम्बिनीमा २.१, कर्णालीमा १.९ र सुदूरपश्चिम प्रदेशमा १.८ प्रतिशतको कुल गार्हस्थय उत्पादको वृद्धि दर अनुमान रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष देखिएको वृद्धि दर निकै कम हो । कोशी प्रदेशमा आव २०७७/०७८ मा ५.० र आव २०७८/०७९ मा ५.५ को कुल गार्हस्थ उत्पादनको वृद्धि दर रहेको थियो ।

त्यस्तै, मधेश प्रदेशमा आव २०७७/०७८ मा ४.५ र आव २०७८/०७९ ४.६ प्रतिशत, बागमती प्रदेशमा आव २०७७/०७८ मा ५.१ र आव २०७८/०७९मा ६.३ प्रतिशत, गण्डकी प्रदेशमा आव २०७७/०७९ मा ४.२ र आव २०७८/०७९ मा ६.४ प्रतिशत, गण्डकी प्रदेशमा आव २०७७/०७८ मा ४.२ र आव २०७८/०७९ मा ६.४ प्रतिशत, लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा ४.७ र आव २०७८/०७९ मा ५.०, कर्णाली प्रदेशमा आव २०७७/०७८ मा ५.० र आव २०७८/०७९ मा ५.३ र सुदुरपश्चिम प्रदेशमा आव २०७७/०७८ मा ४.८ र आव २०७८/०७९ मा ४.८ प्रतिशतको कुल गार्हस्थ उत्पादनको वृद्धि दर देखिएको थियो ।


क्लिकमान्डु