आयात खुलेपछि दाल उद्योगको व्यापार घट्यो, शिवमको जगत दाल उद्योग चपेटामा

252
Shares

काठमाडौं । नेपाली बजारमा जगत ब्रान्डमा विभिन्न प्रकारका दाल बेच्ने आशिर्वाद दाल मिलको व्यापार ७ प्रतिशतले घटेको छ ।

कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ९१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा ८५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ८९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

गत आवमा सञ्चालन आम्दानी घट्नुको प्रमुख कारण सरकारले सन् २०२४ को मध्य जुलाईदेखि अक्टोबरको अन्त्यसम्म आयात गतिविधि लगभग रोकिएको थियो । उक्त अवधिमा आयातलाई निरुत्साहित गरेको थियो । साथै, अर्थ मन्त्रालयले सन् २०२४ को नोभेम्बरमा दाल आयायतमा लाग्ने अग्रिम कर १० प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरेपछि आयात गथिविधिमा पुनः सुधार आएको थियो । दालको आयात घटेपछि नेपाली दाल उत्पादकको व्यापार घटेकामा आशिर्वाद पनि सोही सूचीमा परेको हो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा कुल आम्दानीको ७.८१ प्रतिशत रहेको छ । यस्तो नाफा मार्जिक सन् २०२४ मा ९.३५ प्रतिशत थियो । कम्पनीले गत आवमा १ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ । सन् २०२४ मा १ करोड ६० लाख रुपैयाँ नगद नाफा गरेको थियो ।

गत आवमा कम्पनीको पुँजी संरचना उच्च ऋणभारयुक्त रहेको थियो ।

कम्पनीको चालू पुँजी आवश्यकताको पूर्तिका लागि बैंक ऋणमा उच्च निर्भरताका कारण समग्र गियरिङ अनुपात ३.३९ गुणा कायम रहेको छ । सन् २०२४ मा ३.५७ गुणा थियो । यसैगरी, कम्पनीको गत आवमा कुल ऋण र ग्रस क्यास एक्रुअल अनुपात ५०.४२ गुणा रहेको छ । सन् २०२४ मा ४४.०२ गुणा थियो ।

शिवम् अर्गनाइजेशनद्वारा सञ्चालित यो कम्पनी सन् २०१६ मा दर्ता भएको थियो । पर्सा जिल्लाको वीरगञ्जमा रहेको उत्पादन युनिट रहेको कम्पनीले कच्चा दाल आयात गरी प्रशोधन गर्दै आएको छ । कम्पनीसँग २ वटा प्रशोधन युनिट छन् ।

कम्पनीले मुङ दाल र मास दाल दैनिक ३५ मेट्रिक टन क्षमतामा मास मिलबाट प्रशोधन गर्दै आएको छ भने मसुर मिलले दैनिक ४० मेट्रिक टन क्षमतामा चना दाल, मसुर दाल र रहर दाल प्रशोधन गर्दै आएको छ । कम्पनीले कच्चा दाल अस्ट्रेलिया, क्यानाडा, तान्जानिया र म्यानमारबाट आयात गर्दै आएको छ ।

शिवजीप्रसाद साह कल्वार अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड ६५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३२ करोड ५ लाख रुपैयाँको रेटिङ गराएको हो ।