ब्याजदर अझै घट्छ: केसी, फोन गरेर ‘कर्जा तिर’ भन्दा आत्महत्या दुरुत्साहनमा परिएला भन्ने डर: ढुंगाना



काठमाडौं । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर अझै घट्दै जाने बताएका छन् ।

मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटने संकेत गरेको र असार मसान्तसम्ममा स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने भएकाले ब्याजदर अझै घट्ने उनले बताए ।

राजधानीमा आयोजित दि बैंकिङ डिस्कोर्स २०२३ मा अध्यक्ष केसीले राष्ट्र बैंकले प्रभावकारी मोनिटरिङ गरेका कारण बैंकिङ क्षेत्र स्वस्थ्य रहेको उल्लेख गरे ।

‘बैंकिङ क्षेत्रमा अहिले केही सुधार देखिएको छ । यसो हुँदै गर्दा एनपील बढने, पूर्वाधारलगायतका क्षेत्रमा समस्या भए पनि आशावादी बन्ने धेरै ठाउँ छन्,’ उनले भने, ‘त्यसका लागि आगामी मौद्रिक नीतिले सहयोग गर्नेछ ।’

अहिले तरलता सहज रहेको र ब्याजदर पनि घट्दै गएको जानकारी उनले दिए । उनले बैंकिङ क्षेत्रमा काम गर्न सुरक्षा थ्रेट रहेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले खराब कर्जा बढे पनि उठाउन सक्ने अवस्था नरहेको बताए।

‘फोन गरेर पैसा माग्दा ऋणीले आत्महत्या गर्ने हुन् कि भन्ने त्रास छ,’ उनले भने, ‘आत्महत्या दुरुत्साहन मुद्दामा परिएला भनेर फोन गरेर कर्जा उठाउन सक्ने अवस्था छैन ।’

अप्ठ्यारो समयमा पनि मौद्रिक नीतिको समीक्षा निकै राम्रो आएको उनले बताए । त्यसले उद्योग व्यापार व्यवसाय सुधारतर्फ जान सक्ने तर्क उनको छ ।

वित्त नीतिले गर्ने काम मौद्रिक नीतिबाट होस् भन्ने चाहना राख्नु गलत भएको उनको धारणा छ ।


क्लिकमान्डु