भारतीय खर्बपति अडानीबारेको अनुसन्धानः ६ महिना थप समय माग
काठमाडौं । भारतीय अर्बपति गौतम अडानी माथि केही महिनाअघि हिडेनबर्ग रिसर्चले रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसपछि भारतमै पनि सरकारी नियामक निकायहरुले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
अडानी र हिडेनबर्गको मुद्दामा भारतको सर्वोच्च अदालतले सोमबार (१५ मे)मा सुनुवाइ गरेको थियो । भारतमा सेयर बजारको नियामक निकाय सेबीले सोमबार आफूले गरिरहेको अनुसन्धान पूरा गर्न थप ६ महिना माग गरेको छ । सेबीले थप ६ महिनाको माग गरेपछि मुद्दा दायर गर्नेहरुले भने २०१६ बाट नै अडानी माथि अनुसन्धान गरिरहेकाले थप समय दिन नहुने बताएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले भने अडानी शक्तिको आडमा रहेकाले सेबीले विगतमा अनुसन्धान नै नगरेको उल्लेख गरेका छन् । स्रोतलाई उदृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यमहरुले यस्तो बताएका छन् । सेबीले सर्वोच्च अदालतमा पेश गरेका तथ्यहरु पनि निराधार रहेको र कुनै पनि किसिमको अनुसन्धान अडानी र उनका कम्पनीहरुमाथि नभएको उल्लेख गरिएको छ ।
सेबीले भने आफूहरुले २०१६ बाट नै अनुसन्धान गरिएको भन्ने कुरा सत्य नभएको बताएको छ । अडानी समूहमाथि कुनै पनि किसिमको अनुसन्धान विगतमा नभएकाले थप ६ महिना समय आवश्यक भएको भन्दै सर्वोच्च अदालतमा सेवीले बताएको छ ।
हिडेनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहमाथि अनुसन्धान सुरु भएको थियो । उक्त रिपोर्ट सार्वजनिक हुँदा गौतम अडानीको अर्बौं बराबरको सम्पत्ति गुम्नेदेखि उनका कम्पनीहरुको सेयरमा पनि भारी गिरावट आएको थियो । सर्वोच्चमा रहेको अडानीबारेको मुद्दामा आगामी सुनुवाइ भने १० जुलाईमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत २४ जनवरीमा हिडेनबर्ग रिपोर्टले गौतम अडानी र उनको व्यापारीक साम्राज्यको विषयमा रिपोर्ट निकालेको थियो । उक्त रिपोर्टमा अडानीको समूहमाथि सम्पत्ति शुद्धिकरणदेखि सेयरलाई हेरफेर गरेकोसम्मका आरोपहरु लगाइएको थियो ।