सभामुख हुँदा मलाई एमालेबाट बारम्बार सांघातिक हमला भयोः अग्नि सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौति दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको उनको आरोप थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अलग भइ अर्को पार्टी खोलेका माधव नेपालसहितका नेताहरुलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेद्वारा विभिन्न स्थानमा सांघातिक हमला गरेको उनको आरोप थियो ।

‘मलाई जब त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ भाद्र २ गते हेरौँ सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ । त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ । मैले १४ जना माधव कमरेडहरुको सूचना टाँस गरिनँ, त्यसपछि लगातार मेरो बिरुद्ध आक्रमण गरे । सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे । बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे’ उनले भने ।

उपाध्यक्ष सापकोटाले सबै राजनीतिक दलहरु एकतावद्ध भएर काम गर्ने हो भने कसैले पनि परास्त गर्न नसक्ने बताए ।


क्लिकमान्डु